नेकपा विवाद नटुङ्गेसम्म सरकारमा नजाने कांग्रेसको निर्णय



काठमाडौँ,फागुन १४ । प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सत्ता सहकार्यका लागि नेकपाको प्रचण्ड माधव समूहले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । दुवै पार्टीले आधिकारिक रुपमा नेकपा विभाजन नहुँदा सम्म सहकार्यका लागि प्राप्त प्रस्तावलाई स्वीकार्न नसकिने बताएका हुन् ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको प्रस्ताव गरेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग पनि सहकार्यको प्रस्ताव राखेका थिए ।

तर नेकपा आधिकारिक रुपमा विभाजन नभएसम्म सत्ता सहकार्यको प्रस्ताव स्वीकार्न नसकिने दुवै पार्टीले जनाएका छन् । नेपाली कांग्रेसले नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म उसका कुनै पक्षसँग सहकार्य नगर्ने जनाएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले विवादको टुंगो नलग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको हो । सभपाति देउवा निकट नेता एनपी साउँदले नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र कांग्रेस सरकारमा जान ठिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्