बीबीसी मास्टर सेफ उपविजेता साहको खुलासा: ‘नागरिकता लिन घूस दिनुपर्‍यो’



काठमाडौं, फागुन १९ । बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२० का उपविजेता सन्तोष साहले नेपाली नागरिकता बनाउँदा घूस दिनुपरेको खुलासा गरेका छन् ।

मंगलबार चन्द्रागिरि हिल्समा आयोजित सम्मान कार्यक्रममा नेपाली सेफहरूमाझ उनले सुरुका दिनमा आफ्नो जीवनकाल अत्यन्तै सघर्षपूर्ण रहेको उल्लेख गर्दै सजिलै नागरिकता नपाएको र घूस दिनुपरेको खुलासा गरेका हुन् । हाल बेलायती राहादानी लिइसकेका सेफ साहले गलत कुरा कहिल्यै नलुक्ने उल्लेख गरे ।

भारतीय रेस्टुरेन्टमा झन्डै दुई दशक बिताएका उनलाई पछिल्लो पटक सामाजिक सञ्जालमा भारतीय नागरिकको आरोप लगाइएको थियो । उनले सामाजिक सञ्जालका आरोपको खण्डन गर्दै भने, ‘म पक्का नेपाली हुँ ।

सिराहको कर्जन्हामा जन्मेको हुँ । नागरिकता पनि छ । नागरिकताका लागि धेरै दौडिनुपर्‍यो । घूस दिनुपर्‍यो । जे पनि दिनुपर्‍यो । हाम्रो सिस्टमै त्यही हो ।’ उनले प्रमाण नभएकाले बरु चाँडै नागरिकता पाउने गरेको पनि बताए ।

उनले कुनै पनि मानिस उचाइमा पुगेपछि गलत कुरा नलुक्ने बताउँदै आफ्नो नागरिकता बनाउँदा घूस दिनुपरेको खुलासा गरेका हुन् । पर्यटन बोर्डमा आयोजित अर्को सम्मान कार्यक्रममा उनले हाल आफ्नो विदेश (लन्डन) को पासपोर्ट भएको तर पासपोर्ट जहाँको भए पनि आफूमा नेपालको माया धेरै भएको बताएका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्