नुवाकोट लिखुको सिद्धी गणेश विद्यालयमा ‘केयर फर चिल्ड्रेन’को दिवा खाजा सुरु



दिवा खाजामा रमाउदै विद्यार्थी

नुवाकोट,फागुन १९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धी गणेश आधारभूत विद्यालयमा एक गैरसरकारी संस्थाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ। ‘केयर फर चिल्ड्रेन’ नामक संस्थाले बुधबार एक कार्यक्रमको बीच दिवा खाजा सुरु गरेको विद्यालयकी प्रधानाध्यापक कमला प्याकुरेलले जनाइन।

प्रधानाध्यापक प्याकुरेलका अनुसार गाउँपालिकाद्वारा प्राप्त खाजा कार्यक्रमको एकमुष्ट बजेटमा संस्थाले नपुग रकम थपी पौष्टिक आहारयुक्त खाजाको ब्यवस्थापनमा गरेको हो। यस्का निम्ति गाउँपालिका र संस्था बीच समन्वय भैसकेको छ।

दिवा खाजा कार्यक्रम उद्घाटन समारोहमा संस्थाका अध्यक्ष अर्जुन थपलियाले विद्यार्थीको शैक्षिक विकासमा पौष्टिक आहारले महत्त्वपूर्ण भूमिका राख्ने बताउदै बालबालिकालाई पोषणयुक्त कार्यक्रमलाई निरन्तरता दिने बताए। विगतमा संस्थाले शैक्षिक विकासका लागि आवस्यक विद्यालय पोशाक,झोला,कम्प्युटर लगायत स्टेसनरी सामग्री सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा समेत त्यस्ता कार्यक्रमले निरन्तरता पाउने उद्धोष गरेका छन्।

जिल्लाको पूर्वी क्षेत्रका ९ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोगरत सो संस्थाले विद्यालयमा खाजाका लागि भवन पुनर्निर्माण गरेको छ भने आवश्यक फर्निचर तथा भान्से ब्यवस्थापन समेत गरेको छ।

कार्यक्रममा संस्थाका सचिव गोकर्ण गुणी,कोषाध्यक्ष बिश्वराज घले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्