पोलार्डले हाने ६ बलमा ६ छक्का



एजेन्सी,फागुन २० । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले श्रीलंकाविरुद्ध पहिलो टि२० खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । जारी पहिलो टि २० खेलमा पोलार्डले छैटौं ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोलार्डले छैटौं ओभरमा श्रीलंका स्पिनर अलिका धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । यसअघि धनञ्जयले खेलमा ह्याट्रिक लिएका थिए ।

धनञ्जयले चौथो ओभरमा ह्याट्रिक गरेका थिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक लिएका थिए । पोलार्ड ११ बलमा ६ छक्का सहित ३८ रनमा आउट भएका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । टि २० आई मा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भारतीय युवराज सिंह हुन् । युवराजले सन् २००७ मा भारतबाट इंग्ल्यान्डविरुद्ध प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्