पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाइँदै



काठमाडौं,चैत ८ । सरकारले कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विदेशी पर्यटक आगमनमा खुकुलो नीति लिने तयारी गरेको छ । हाल विदेशी पर्यटकलाई ७ दिनसम्म क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्ने व्यवस्थामाथि हेरफेर गर्दै सरकारले कोरोना खोपको डोज पुगेको र ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने पर्यटकलाई सहज प्रवेश दिने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टाइन व्यवस्थालाई लचिलो बनाउन भन्दै केही दिनअघि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । सोहीअनुसार विदेशी पर्यटक नेपाल आएर क्वारेन्टाइनमा बस्नुपर्ने तथा कोरोना बीमाको व्यवस्था हटाएर यात्रा बीमा मात्रै भए पुग्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार विदेशी पर्यटकले गर्नुपर्ने ५ हजार डलरको कोरोना बीमा पनि अब गर्नु नपर्ने निर्णय भएको छ ।

विदेशी पर्यटककै भरमा रहेको नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटनले पनि भरथेग गरेको अवस्थामा सरकारले क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाएको हो । यसले बाह्य पर्यटक आगमनमा सुधार हुने अपेक्षामा व्यवसायी छन् । पर्यटन तथा होटेल व्यवसायीले पनि विगतदेखि नै क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाउन माग गर्दै आएका थिए ।

२०१९ मा झण्डै १२ लाख विदेशी पर्यटक नेपालमा आएका भए पनि कोरोना महामारीकै कारण २०२० मा यो संख्या २ लाख ३० हजारमा खुम्चिएको थियो । सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिएसँगै पर्यटन व्यवसायीले पर्यटक आगमन बढाउन विभिन्न रणनीति कार्यान्वयनको तयारी गरेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्