धनसम्पत्ति भनेकै आफ्नो नाम लाग्छ जसको निम्ति लडिरहेको छु-नुवाकोटे टाइगर



नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ समुन्द्रादेवी स्थायी घर भएका कमल लामा उर्फ ‘नुवाकोटे टाइगर’नेपाली रिङ रेस्लिङ खेलमा एक चर्चित नाम हो। सुरुमा मार्सल आर्टका चर्चित खेलाडीका रुपमा चिनिएका कमल लामा हाल रेस्लिङ खेलमा चर्चा कमाइरहेका छन्। जापानीज, अमिरिकन, यूरोपियन ,रेस्लरहरुबाट तालीम लिएका नुवाकोटे टाइगर हाल आफू मात्र खेल्दैनन, रेस्लिङ संघले स्थापना गरेको डोजोमा ३५ भन्दा बढी खेलाडीहरुलाई दैनिक प्रशिक्षण पनि दिन्छन् । यही चैत २० र २१ गते पोखरामा हुन गइरहेको रिङ रेस्लिङ प्रतियोगिताका लागि हाल तयारी गर्दै गरेका टाइगरसंग साझापथ डटकमका सम्पादक भरत तामाङले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ।

• के मा ब्यस्त हुनुहुन्छ?

म रेस्लिङको व्यायाम अन्तर्गत विशेषत जिम गर्ने,रेस्लिङ सिक्नेलाई प्रशिक्षण दिने गरिरहेको छु। प्रशिक्षणका क्रममा आफू पनि सुधारिने मौका पाइदोरहेछ। थप केहि सिक्ने सिकाउने काममा ब्यस्त छु भनौं न। अर्को कुरा आउदै गरेको पोखरामा हुने रिङ रेस्लिङको बारेमा पनि सोच्नै पर्यो।त्यसमै ब्यस्त छु।

• पोखरामा हुने रिङ रेस्लिङको तयारी चै कस्तो छ?

पोखरामा हुने रिङ रेस्लिङका लागि सबै तयारी हुँदैछ।प्रतियोगितामा सहभागिताका लागि सबैजना रेस्लरहरु जित्छौ नै भनेर प्रायः दिनभर जसो तयारी गरिरहेका छौं।तयारी एकदमै राम्रो छ। नेपालका सबैजसो रेस्लरको प्रतियोगिता हुने भएकाले प्रतियोगिता दमदार होला भन्ने लाग्छ। खानपानदेखि सबै कुरामा ध्यान दिदै ट्रेनिङमा खटिरहेको छु।साथीहरू पनि खटिरहेका छन् । हेरौं के हुन्छ प्रतियोगिता नजिकिदैछ।मलाई लाग्छ अहिलेसम्मकै महत्त्वपूर्ण खेल पोखरामा हुन्छ।

• कोरोना महामारीकै बीच रेस्लिङ आयोजना भयो,पोखरा नै प्रतियोगि भिड्ने ठाउँका रुपमा छनौट चाहिँ कसरी भयो होला ?

होइन नि! कोरोनाकै कारण सन २०२० को रिङ रेस्लिङ प्रतियोगिता पनि रोकिएका थिए। हाल तत्काललाई चाहिँ सरकारी तवर बाटै खेलकुदहरु संचालनमा ल्याइएका हुन। हामी रेस्लिङ प्रेमी पनि यस बखतमा अलिकति केहि गरौं न भनेर प्रतियोगिताको आयोजना भएको हो। प्रतियोगिता तयारी र खेल मिति तय हुँदासम्म कोरोना न्यून हुँदै गइरहेको थियोे।

पछिल्लो दिन संक्रमणदर वृद्धि भएका खबर आइरहेका छन्। अर्को कुरा प्रतियोगिता पोखरा हुनुमा काठमाडौमा रेस्लर प्रेमी छैनन् भन्ने होइन।विगतलाई हेर्नुहुन्छ भने काठमाडौमा पनि त्यस्ता प्रतियोगितात्मक खेलहरु भएकै थिए।

अर्को कुरा हरेक वर्ष हामीले फरकफरक स्थान तथा प्रदेशमा प्रतियोगिता गराउदै आएका पनि छौं। सन २०१९ मा वाग्मती प्रदेश अन्तर्गत काठमाडौमा गर्यौ र यो वर्ष गण्डकी प्रदेशको पोखरामा गर्दैछौं। अब क्रमशः अन्य प्रदेशमा गर्दै जानेछौ। पोखरामा हुने प्रतियोगितामा पनि सातै प्रदेशका खेलाडीको सहभागीता रहनेछन।

• नेपालमा रेस्लिङ आयोजना सरकारी तवरबाटै स्वीकृति पाइसकेको कती भयो?यस खेलका सम्भावित दुर्घटनाका जिम्मेवार को हुन्छ?

रेस्लिङ खेल एक चुनौतीपूर्ण खेल पनि हो। चुनौतीका भित्री पाटाको कुरा भन्दा यस खेलको नेपालमा विकास अर्थात दर्ताको कुरा गर्दा राष्ट्रिय खेलकुद परिषदमा यो खेल २०७२ सालमा दर्ता भएको हो। चुनौतीपूर्ण भएकाले खेल खेल्दा खेलाडी स्वयं संयमित भएर नियममा रहेर खेल्नुपर्ने हुन्छ। सम्भावित दुर्घटनाको जिम्मेवार चै नेपाल रिङ रेस्लिङ एसोसिएसन नै हुन्छ ।

• रिङ रेस्लिङमा खेलाडीहरु लडाकु झै भिड्छ्न, कतिपय जानकारहरु सहमतिमै एक अर्कालाई प्रहार गर्छन् भन्छन् नि वास्तविकता के हो?

होइन, होइन भरतजी, खेलका आफ्नै नियम हुन्छन नि! सहमतिमा कहाँ लडिन्छ र? यसको त आफ्नै नियम भित्र रहेर खेल्नुपर्छ। खेल खेल्नु पूर्व तालीम प्राप्त हुनुपर्छ।विना तालिम त अपांग भैहाल्छ नि मानिस। रिङ रेस्लिङ खेलकुद बेसमा रहेर खेल्ने हो। यसको पनि तहगत खेल हुन्छन् । कुन चरणको तालिम हो र कुन प्रकारको खेल खेल्ने हो उस्को तालिममा भर पर्दछ । सहमतिमा प्रहार हुने भन्ने गलत हो।

• पोखरामा हुने रेस्लिङमा कतिजना प्रतिस्पर्धी सहभागी हुनेछन्?कोको रहनेछन् भिडन्तमा?

मैले अगाडि नै भने नि पोखराको खेल विशेष रहनेछ भनेर। त्यहाँ चलेका खेलाडीको भिडन्त हुनेछ भने मध्यम स्तरमा पनि प्रतियोगिता हुनेछ। प्रतियोगितामा १४ जिल्लाका २० जना पुरुष खेलाडी र ४ जना महिला खेलाडीको सहभागिता रहनेछ। म नुवाकोटे टाइगर लगायत थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, डेनिका लगायतको भिडन्त हुनेछ। अन्य थप रेस्लर पनि हुनेछन् ।

• देशभरका रेस्लरको भिडन्त हेर्न दर्शकको उपस्थिति संख्या चाहिँ कति रहला? यद्यपि दोस्रो चरणको कोरोना फैलने डरले सरकारले नयाँ नियम समेत सार्वजनिक गरिसकेको छ।

पहिला पहिलाको खेलमा दर्शकको यस खेलप्रतिको क्रेज त थामिनसक्नु थियो । पुराना खेलहरु सम्झदा अनि दर्शकको माया सम्झदा पनि उत्साहित हुन्छु म । तर यस वर्ष कोरोना पनि विद्यमान छ। कोरोनाका कारण दर्शक संख्यामा थोरै कमि आउँछ कि जस्तो लाग्छ। तरपनि हल प्रवेश पूर्व अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थापन गरेका छौं । असावधानी अपनाउने भन्ने त कुरै हुन्न नि। यसपालि विशेषगरी अनलाइन वा टेलिभिजनबाट हेर्ने दर्शक बढी हुन्छन् कि भन्ने पनि लागिरहेको छ।

• तपाईं कमल लामा। हाल नुवाकोटे टाइगरको नामले परिचित हुनुहुन्छ। टाइगर कै उपनाम चै कसरी रोज्नुभयो वा कसैले राखिदिए कि?

कमल लामा मेरो बुबा आमाले राखिदिनु भएको नाम हो।सुरुवाती समयमा मेरो जन्मस्थल नुवाकोट भएकाले आफ्नो जन्मभूमिको मायाले ‘नुवाकोटे’ भनेर उपनाम राखेको थिए। टाइगर चै बाघले झैं प्रतिस्पर्धीलाई आक्रमण गर्ने भएकाले साथीहरूले राखिदिएका हुन। नाम जेजस्तो भएपनि इज्जत नै धन सम्पत्ति रहेछ। थोरबहुत धनसम्पत्तिका रुपमा यहि नाम इज्जत जे भनु कमाएको छु भनौं न।

केहि समय अघि साझापथ डटकमले टाइगरसंग गरेको कुराकानीको भिडियोको लिंक

प्रतिक्रिया दिनुहोस्