नुवाकोट शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि, डाक्टर महतद्वारा उद्घाटन हुने



खेलकुदका लागि तयारी रंगशाला

नुवाकोट, चैत १५ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता जनाउने गाउँपालिकाले जनाएको छ ।

खेलकुद उद्घाटन समारोह नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। उद्घाटन पूर्व गाउँपालिकाका जनप्रतिनिधि,राजनीतिकर्मी तथा स्थानीय बुद्धिजीवीहरु बीच समिक्षात्मक बैठक समेत गाउँपालिकाले सम्पन्न गरेको छ। खेलकुद कार्यक्रम नजिकिदै गएकाले पालिकाको पहलमा थप आवश्यक पूर्वाधार तयारीका लागि लागिपरेको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले साझापथसंग भने- ‘नवनिर्मित खेल मैदान भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका उपायका साथ धुलो बाट खेलाडी तथा दर्शकलाई बचाउन पानी स्प्रेको व्यवस्थापन गरिएको छ।’

जिल्लाभरका फुटबल खेलाडीको भिडन्त

गाउँपालिकाले एक महिना अगावै एक सूचना जारी गर्दै जिल्लाका एघार वटै स्थानीय तहलाई १६ जना खेलाडी ब्यवस्थापक र प्रशिक्षकसहित १८ जनाको नाम पठाउन भनिएको थियोे । खेलाडीहरुको नामावली सम्बन्धित गाउँपालिकाको आधिकारिक पत्रमा प्राप्त भैसकेको गाउँपालिका खेलकुद शाखाले जनाएको छ।

प्रतियोगिताका लागि खेलमैदान ब्यवस्थापन सम्पन्न भैसकेको खेलकुद संयोजक समेत रहेका वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङले बताए।

सो प्रतियोगितामा सामेल भइ प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई ४ लाख र तेस्रो हुने समूहलाई २ लाख प्रदान गरिने शिवपुरी गाउँपालिकाले जनाएको छ । यसप्रकारको प्रतियोगितात्मक खेल आयोजनाले जिल्ला तहमा लुकेर रहेका खेलाडीको पहिचान गर्न सहज हुने गाउँपालिकाले अपेक्षा गरेको छ।

प्रतियोगिता पूर्व गाउँपालिकाले खेलमैदानमा गरेको समिक्षात्मक बैठकले खेलाडी ब्यवस्थापनदेखि दर्शकको सेवा सुविधाका लागि आवश्यक तयारी समेत गरेको जनाएको छ। समिक्षात्मक बैठकमा शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरुले प्रगती विवरण प्रस्तुत गरिएको थियोे ।

जस अन्तर्गत यसअघि शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीको संयोजकत्वमा स्वागत तथा अतिथि सत्कार उप समिति, वडा नम्बर ४ का अध्यक्ष झमकराज गुरुङको संयोजकत्वमा प्रायोजन व्यवस्थापन तथा स्वयंसेवक परिचालन उप समिति, वडा नम्बर ७ का वडा अध्यक्ष माधवप्रसाद भेटवालको संयोजकत्वमा मञ्च तथा खाना बासस्थान व्यवस्थापन उपसमिति, वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम थापाको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति, वडा नम्बर २ का वडा अध्यक्ष रुद्र बहादुर गुरुङको संयोजकत्वमा निमन्त्रणा तथा कार्यक्रम सञ्चालन उपसमिति र वडा नम्बर ६ का वडा अध्यक्ष लाल बहादुर तामाङको संयोजकत्वमा खेलाडी छनौट तथा व्यवस्थापन उप समिति गठन गरिएको थियो । सो उपसमितिलाई परिमार्जन गर्दै खेलकुद अवधिभर खटाइने बताइएको छ।

बढ्दो कोरोना संक्रमण बीच सावधानी के होला?

खेलकुद समयमा कोरोना महामारीको सम्भावित संक्रमण न्यूनीकरणका उपाय पूर्णरूपमा अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ। उपस्थित दर्शक तथा खेलाडीलाई स्वास्थ्य परिक्षणसहित प्रवेश गराइने गाउँपालिकाले जनाएको छ।

आवश्यक खण्डमा खेलकुद समयमा मास्क वितरण तथा स्यानिटाइजर प्रयोगका लागि सबैलाई उत्प्रेरित गरिने समेत शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।

माओवादी पक्ष असन्तुष्ट

नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता तथा स्थानीय कार्यकर्ता असन्तुष्ट रहेको श्रोतले जनाएको छ। वाग्मती प्रदेश सरकारको डेढ करोड बजेटमा निर्मित सहिद स्मृति रंगशालाको नामले सुरु भएको रंगशालाको नामनै परिवर्तन गरेर गाउँपालिकाले शिवपुरी रंगशाला नामकरण गरेको उनीहरुले आरोप लगाउदै आएका छन्।

केहि दिन अघि रंगशाला निर्माण कमिटिका अध्यक्ष राजाराम गुणीले एक भिडियोमा गाउँपालिकाले रंगशाला निर्माणका लागि खर्चिएको रकमका बारेमा बोल्दै भनेका छन्’गाउँपालिकाले रंगशाला निर्माणका लागि एक पैसा खर्चिएको छैन। तर गाउँ शहर चोकमा खर्च गरेको रकमका बारेमा निराधार भएको बताए। गाउँपालिकाले भने केहि रकम रंगशाला निर्माणका लागि खर्चिएको बताउदै आएको श्रोतले बताएको छ।

गाउँपालिकाद्वारा सार्वजनिक खेल समूह तथा समय तालिका

प्रतिक्रिया दिनुहोस्