स्वदेशी भूमिमा नेपाललाई ३७ वर्षपछि उपाधि



काठमाडौं, चैत १७ । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल स्वदेशी भूमिमा ३७ वर्षपछि च्याम्पियन बनेको हो ।

नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यति बेला दक्षिण एसियाली खेलकुद महासंघ ९साग०मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । समग्रमा नेपालको यो पाँचौँ उपाधि हो । यसअघि नेपालले सन् १९८४ र १९९३ को सागको पुरुष फुटबल, २०१६ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप र २०१६ मै बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।

प्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा गतवर्ष नेपालले सागको उपाधि जितेको हो । नेपाललाई थ्री नेसन्स कपको च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

बंगलादेशका महाबुबुरले दोस्रो हाफमा एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुनिलको क्रस बल त्रिदेव गुरुङले नियन्त्रणमा लिन नसकेपछि बललाई बंगलादेशका डिफेन्डरले क्लियर गर्दा नेपाल अग्रता लिनबाट चुक्यो । १७औं मिनेटमा सुनिल बलको क्रसमा डिफेन्डर अनन्त तामाङको हेडरलाई अनिसुर रहमानले बचाए । १८औं मिनेटमा सन्जोक राईले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्