डाक्टर महतबाट उद्घाटन हुँदै शिवपुरी फुटबल प्रतियोगिता, गोलनेपालले प्रत्यक्ष प्रसारण गर्ने



नुवाकोट, चैत १७ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता भोलि चैत १८ गतेदेखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता जनाउने गाउँपालिकाले जनाएको छ ।

खेलकुद उद्घाटन समारोह नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। उद्घाटन पूर्व गाउँपालिकाका जनप्रतिनिधि,राजनीतिकर्मी तथा स्थानीय बुद्धिजीवीहरु बीच समिक्षात्मक बैठक समेत गाउँपालिकाले सम्पन्न गरेको छ। खेलकुद कार्यक्रम पूर्व पालिकाको पहलमा थप आवश्यक पूर्वाधार समेत तयारी गरिसकिएको अध्यक्ष थापाले बताए ।

मंगलबार नेपाली झण्डाले मैदान झकिझकाउ गरिएको छ भने उद्घाटनका लागि आवश्यक तयारी सम्पन्न भैसकेको बताउदै अध्यक्ष थापाले साझापथसंग भने- ‘नवनिर्मित खेल मैदान भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका उपायका साथ धुलो बाट खेलाडी तथा दर्शकलाई बचाउन पानी स्प्रेको व्यवस्थापन गरिएको छ।’

शिवपुरीको खेलकुद समग्र नुवाकोटको खेलकुद भएकाले सबैजना आएर अवलोकन गरिदिन समेत अध्यक्ष थापाले अनुरोध गरेका छन्। शिवपुरीको समृद्धिका लागि सबैको एकता आवश्यक रहेको बताउदै अध्यक्ष थापाले विकास निर्माणका गतिविधिमा सबैको उत्तिकै महत्त्व रहने बताए ।

एक सातासम्म चल्ने प्रतियोगितामा सामेल भइ प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई ४ लाख र तेस्रो हुने समूहलाई २ लाख प्रदान गरिने शिवपुरी गाउँपालिकाले जनाएको छ । यसप्रकारको प्रतियोगितात्मक खेल आयोजनाले जिल्ला तहमा लुकेर रहेका खेलाडीको पहिचान गर्न सहज हुने गाउँपालिकाले अपेक्षा गरेको छ।

आगामी चैत २५ गतेसम्म संचालन हुने प्रतियोगिताको नेपालकै चर्चित प्रत्यक्ष अनलाइन मिडिया ‘गोलनेपाल’ले प्रसारण गर्ने मिडिया कोडिनेटर पुरुषोत्तम बस्नेतले बताए । यसबाट जिल्ला तहमा मात्र सिमित नभई विश्वभर रहेका नेपालीले अन्लाईनका माध्यमबाट प्रतियोगितात्मक फुटबल खेलको मजा लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्