गोल्डकपको दोश्रो दिनको खेलमा विदुर, सुर्यगढी र बेलकोटगढी विजयी



नुवाकोट,चैत १९ । शिवपुरी गाउँपालिकामा भैरहेको अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाले जीत हासिल गरेका छन् ।

पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–० गोलले पराजित गर्यो । विदुर नगरपालिकाका लागि सन्तोष थापाले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । उनले खेलको ३३ औं र पहिलो हाफको थप गरिएको समयमा गोल गरे । उनी नै खेलको म्यान अफ द म्याच भए । यो जीतसँगै विदुर नगरपालिकाले समूह डि को खेलमा ३ अंक जोडेको छ ।

त्यसैगरी दोस्रो खेलमा बेलकोटगढी नगरपालिकाले लिखु गाउँपालिकालाई ३–० गोल अन्तरले हराउन सफल भयो । बेलकोटढीको जीतमा अशोक नेपालले दुई गोल गरे । उनले २८ औं र ५२ औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अर्को गोल बिकेश लामाले निर्धारित ७० मिनेटपछि थप गरिएको समयमा गोल गरे । यो जीतसँगै बेलकोटगढीले समूह बि को खेलमा ३ अंक जोडेको छ ।

त्यसैगरी बिहिबारको तेस्रो खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता भने ककनी गाउँपालिकाले लिएको थियो । खेलको ३० औं मिनेटमा विश्वास तामाङले गोल गर्दै ककनीलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि सुर्यगढीका निशान श्रेष्ठले बराबरी गोल गरे ।

३६ औं मिनेटमा सुर्यगढीका कप्तान कुमार तामाङले फ्रि किक मार्फत सुन्दर गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । त्यसपछि निशान श्रेष्ठले ४४ औं मिनेट र रञ्जित तामाङले ४७ औं मिनेटमा गोल गर्दै सुर्यगढीलाई ४/१ को अग्रता दिलाए ।

प्रतिक्रिया दिनुहोस्