कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा



काठमाडौ,चैत २१ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो।

कांग्रेसको शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार संविधान र लोकतन्त्र मास्न उद्यत् रहेको निष्कर्ष निकालेको छ। ‘कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको हो’, प्रवक्ता विश्वप्रकाश शर्माले अन्नपूर्ण पोस्ट्सँग भने।

कांग्रेस नयाँ सरकार गठनको रणनीतिबारे बोलेको छैन। उसले विपक्षी दलहरू मिलेर अविश्वासको प्रस्ताव गर्नेबारे कुनै निर्णय गरेको छैन। संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न एकचौथाइ सांसद आवश्यक पर्छ। कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव दर्ता गर्न पर्याप्त संख्या पुग्दैन।

प्रवक्ता शर्माले अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे कुनै निर्णय नभएको सुनाए। ‘यसबारे हामीले निर्णय गरेका छैनौं’, शर्माले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भएकाले कसरी अगाडि बढ्ने भन्नेमा छलफल गर्न बाँकी छ।’

सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा एकता बदर गर्दै साविककै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको थियो। त्यसपछि बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार गठनका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको थियो। उक्त बैठकले सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो।

सभापति देउवाले भने जनादेश प्रतिपक्षमै बस्न भएकाले तत्काल सरकार गठनमा लाग्न नहुनेमा जोड दिँदै आएका छन्। देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताउँदै आएका छन्। पछिल्लो समय माओवादी केन्द्रले सत्तारूढ एमालेइतर दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भन्दै कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग औपचारिक छलफल गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवा र जसपाका शीर्ष नेताहरूसँग पटकपटक भेटवार्ता गरेका छन्। दाहालले देउवालाई सरकारको नेतृत्व गर्ने गरी सत्ता समीकरण बनाउन पहलकदमी लिन पनि प्रस्ताव गरिसकेका छन्। देउवा भने ओलीको विकल्प खोज्नेबारे जसपाको निर्णयको पर्खाइमा छन्।

‘जसपाले यो सरकारको विकल्पमा जाने निर्णय नै नगरी कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्न हतार गर्दैन’, कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘एमालेबाहेक दलहरू एक ठाउँमा आउने अवस्था भयो र जसपाले संस्थागत रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेपछि कांग्रेसले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छ।’

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताए। उनका अनुसार कांग्रेसले ओली नेतृत्वको सरकार स्वीकार नगर्ने निर्णय गरेको छ।

जसपाभित्र यो सरकारप्रतिको दृष्टिकोणमा मतभेद देखिन्छ। पूर्वराजपा समूहका नेता ओलीसँगै मिलेर अगाडि बढ्नुपर्ने पक्षमा देखिन्छन्। पूर्वसंघीय समाजवादीका अधिकांश नेता ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन्। जसपा विभाजित भएको अवस्थामा नयाँ सरकार गठनको पहल गर्नु आत्मघाती हुने देउवापक्षीय नेताहरूको विश्लेषण छ।

संसद्को अंकगणित प्रष्ट नभएसम्म नयाँ सरकार गठनतर्फ देउवाको चासो देखिँदैन। देउवाले पार्टीको आसन्न १४औं महाधिवेशन तोकिएकै समयमा गर्ने गरी काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिने गरेका छन्। पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने महाधिवेशन पाँच वर्षमा पनि हुन नसकेपछि समयावधि ६ महिना थप गरिएको छ। संवैधानिक व्यवस्थाको सुविधा उपयोग गरेको कांग्रेसले आउने भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था छ। देउवाले सरकारमा जानुभन्दा महाधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेता बताउँछन्।

यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्