पर्यटक आगमनमा सुधार



काठमाडौं,चैत २२ । पछिल्लो समय मुलुकमा पर्यटक आगमनमा सुधार देखिन थालेको छ । वसन्त (स्प्रीङ) को सिजन शुरू भएसँगै र सरकारले क्वारेन्टाइनको व्यवस्थामा खुकुलो नीति लिएपछि मार्च महीनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका हुन् । यीध्ये ५ देशबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । यद्यपि नेपालमा अहिले ३३ देशका पर्यटक आइसकेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार २०१९ पछि २०२१ को यो सिजनमा बढी पर्यटक भित्रिएका हुन् । २०२० को यो सिजनमा भने कोरोना भाइरस र बन्दाबन्दीले पर्यटक आगमन शून्य थियो ।

मार्च महीनामा सार्क मुलुकमध्ये भारतबाट सबैभन्दा बढी पर्यटक नेपालमा आएका छन् । मार्चमा भारतबाट ७ हजार ६५८ पर्यटक नेपाल आएका छन् । यसैगरी अमेरिका, चीन, बेलायत र जर्मनीबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् ।

यतिबेला नेपालमा हिमाल आरोहण तथा ट्रेकिङका लागि पर्यटकहरू बढी आउने गर्छन् । वसन्त सिजन शुरू भइसकेको हुँदा मार्चमा पर्यटक आगमन उल्लेख्य देखिएको हो । बढी खर्च गर्ने मानिएका यूरोपेली महाद्वीपका १६ देशका १ हजार ७९० जना पर्यटक नेपाल आएका छन् । तीमध्ये जर्मनी, फ्रान्स, रसिया, बेल्जियम, नेदरल्यान्डबाट धेरै पर्यटक आएका छन् । क्यानडा र अमेरिकाबाट भने १ हजार ८३१ जना आएका छन् । एशियाका चीनसहित ८ देशबाट १ हजार ५७० जना पर्यटक नेपाल आएका छन् ।

नेपालमा सार्क मुलुकबाट ८ हजार ८० जना पर्यटक आएका छन् । यसमध्ये भारतपछि सबैभन्दा बढी ७ हजार ६ सय ५८ र बंगलादेशबाट ५६८ जना पर्यटक नेपाल आएका छन् । पर्यटक संख्यामा सार्क मुलुकको अंशमध्ये ५५ दशमलव ९५ प्रतिशत रहेको छ ।

पर्यटन विभागले वसन्त सिजनको सगरमाथा आरोहण गर्ने ९ दलबाट १०० जनालाई अनुमति जारी गरिदिएको छ । यो सिजन शुरू भएयता शुक्रवारसम्म सगरमाथा आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन् । हालसम्म सातओटा हिमाल तथा पिक आरोहणका लागि २० ओेटा दलबाट १७३ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनुसार सगरमाथाबाहेक अहिले अन्नपूर्ण हिमाल, धवलागिरि र नुप्त्से हिमाल आरोहणका लागि बढी परमिट जारी गरिएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका लागि ४ दलबाट ४४ जना, धवलागिरि हिमाल आरोहणका लागि २ दलबाट १२ र नुप्त्सेमा २ दलबाट १० जनाले पर्वतारोहणका लागि अनुमति पाएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्