नुवाकोटको दुप्चेश्वर मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण



संरचनाको उद्घाटन तथा थप नयाँ भवन शिलान्यास कार्यक्रम

नुवाकोट,चैत २२ । जिल्लाको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ।

गुरुयोजना अनुसार आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण पुरा गर्न मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख खर्चिनेछ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गरेका छन् । सो अवसरमा थप संरचनाका लागि बजेट अभाव हुन नदिने मन्त्री ढकालले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

“धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उनले भने, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।”

कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डे,सांसद बद्री मैनाली,दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ,उपाध्यक्ष अञ्जु आचार्य लगायतको उपस्थिति रहेको थियोे।

दुप्चेश्वर गाउँपालिका–६ राउतबेँशीस्थित चट्टाने भिरमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरको संरक्षणमा तीन तहको सरकारबीचको सहकार्यमा निकै सुधारका काम हुँदै आएको छ । तीन तहको सरकारमार्फत मन्दिरसम्म पुग्न कठिन रहेको बाटोमा पदमार्गको व्यवस्था, दर्शनार्थीलाई लाइनमा बस्दा घामपानीबाट बच्न छाना,मन्दिरमा सिसिटिभी क्यामराको प्रबन्ध मिलाइएको छ।

मन्दिरका पूजारी भगवानहरि धितालले प्रसिद्ध रहेको दुप्चेश्वर महादेवको मन्दिरको महिमा निकै उच्च रहेको जानकारी दिँदै संरक्षण, प्रबद्र्धन तथा प्रचारप्रसार आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्