रात्रिकालीन व्यवसायमा रोक



काठमाडौं,चैत २६ । कोरोना भाइरसको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको छ । बुधवार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन व्यवसाय तथा रेस्टुराँहरू बन्द गराउन मन्त्रालयले निर्देशन दिएको हो ।

ठूला शहरमा ५०० र साना शहरमा १०० भन्दा बढी सक्रिय संक्रमित भए आवागमनमा कडाइ गराउन पनि मन्त्रालयले भनेको छ ।

काठमाडौं र पोखरालगायत ठूला शहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले भनेको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिरलगायत क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहे/नरहेको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टिजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।

सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले आसन्न तीन दिवसीय क्रिकेट म्याच आयोजनाको स्वीकृति तथा सञ्चालनको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य संख्या वा क्वारेन्टाइन अवधि निर्धारण गर्न पनि भनेको छ । कोभिडको बढ्दो चुनौतीलाई दृष्टिगत गरेर यस्ता कार्यक्रममा कडाइ गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

संक्रमणको जोखिम बढी हुने स्थानमा आलोपालो रूपमा एन्टिजेन परीक्षण बढाउन स्थानीय तहलाई मन्त्रालयले निर्देशनसमेत दिएको छ । छिमेकी मुलुक भारतमा पछिल्लो समय बेलायती र ब्राजिलियन भेरिएन्ट भेटिएको छ र संक्रमण फैलिएको छ । यसबाट नेपाल उच्च जोखिममा रहेको मन्त्रालयको निष्कर्ष छ । बेलायती भेरिएन्टचाहिँ नेपालमा यसअघि पुष्टि भइसकेको र वृद्धि हुने क्रम बढेको भन्दै मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत सतर्क हुने समेत भनिसकेको छ ।

नेपालमा कोरोना संक्रमणको ग्राफ पछिल्ला दिनहरूमा उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर बुधवार मात्रै ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १०० नमूनाको पीसीआर टेस्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भयो भने १ हजार ४० एन्टिजेन टेस्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । हाल देशभर २  हजार २०१ संक्रीय संक्रमित रहेका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्