रोल्पामा भीरबाट खसेर वडाध्यक्ष रोकाको मृत्यु



रोल्पा,चैत २६ । रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ । छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो ।

खुङमा भएको जग्गा विवादको छलफलमा भाग लिई फर्कनेक्रममा अध्यक्ष खसेको बाटो निकै साँघुरो भएको प्रहरीले जनाएको छ । ६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्‍नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले मृतक रोकाको पोस्टमार्टम गरिएको बताए । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस्