पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ



सिन्धुपाल्चोक,चैत २६ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी दुर्गा आचार्यलाई १६ मतको अन्तरले हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।

९७ मतदाता रहेको सिन्धुपाल्चोक शाखामा अध्यक्षमा निर्वाचित श्रेष्ठले ५६ मत प्राप्त गरे । आचार्यले ४० मत प्राप्त गरिन् ।

शाखाको ११ औं अधिवेशनमा भएको निर्वाचनमा साविक माओवादी र एमाले निकट पत्रकार एक भएका थिए । नेपाली कांग्रेस निकट पत्रकारहरुले छुट्टै प्यानल खडा गरि चुनावी स्पर्धामा उत्रेका हुन् । निर्वाचनमा माओवादी र एमाले निकट पत्रकारहरुको बाम गठबन्धनको प्यानलै विजयी भएको हो ।

बुधबार भएको निर्वाचनमा उपाध्यक्ष पदमा दिनेश थापा निर्वाचित भए । उपाध्यक्षका प्रत्यासी किशोर बुढाथोकीलाई पछि पार्दै थापा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा बुढाथोकीले ३६ मत प्राप्त गरे । थापाले ५४ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै महिला उपाध्यक्षमा कमला पाख्रिनलाई पाखा लगाउँदै चन्द्रकला खत्रीले विजय हासिल गरिन् ।

शाखाको सचिवमा चित्र मिजारलाई पछाडी पार्दै विदुर आचार्यले बाजी मारे । सहसचिवमा नानीराम नेपाल विजयी बने । उनले रुपक पुरीलाई हराएका हुन् । त्यस्तै समावेशी सहसचिवमा नेत्र तामाङलाई केदार माझीले हराए भने कोषाध्यक्षमा निरोज चौलागाईंलाई पछाडी पार्दै नेत्र पौडेल विजयी बने ।

सदस्यहरुमा दिपक खत्री, देवराज सुवेदी, अशोक पराजुली, प्रभात श्रेष्ठ र दिनेश दुलाल निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्