आज हुने सुर्यचौर रिङ रेस्लिङको यस्तो छ तयारी [हेरौं तस्बिरहरु]



नुवाकोट,वैशाख १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा आज हुने रिङ रेस्लिङ महाभिडन्तको भब्य तयारी गरिएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको हो ।

नेपाल रिङ रेसलिङ संघको आयोजना तथा शिवपुरी गाउँपालिकाको सह आयोजनामा हुन लागेको प्रतियोगिताका लागि रिङ स्टेज निर्माण सम्पन्न भैसकेको छ भने साउण्ड सिस्टम,दर्शक दिर्घा व्यवस्थापन समेत गरिसकिएको आयोजकले बताएको छ । आज दिउँसो २ बजेदेखि सुरु हुने रेस्लिङ भिडन्त अवलोकन र प्रवेश निशुल्क गरिएको छ भने निकुञ्ज प्रवेशमा समेत छुट गरिएको आयोजक समूहले साझापथलाई जनाएको छ।

नयाँ वर्षको सुखद अवसरमा हुने प्रतियोगिता अन्तर्गत हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन । त्यस्तै लाइट हेभी तर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिला तर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोर तर्फ द युब र थागु भिड्नेछन् । प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन् भने कमेन्टर होस्ट जीवन तामाङले गर्नेछन् ।



राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघ को आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद वाग्मती प्रदेश को सहयोगमा उक्त प्रतियोगिता गर्न लागीएको संघले जनाएको छ। प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समुहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन ।

हेरौं तस्वीरहरु:-

प्रतिक्रिया दिनुहोस्