नयाँ वर्षमा पनि आएनन् पर्यटक, व्यवसायी निराश



चितवन, बैशाख ३। गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् ।

केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् ।

जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’

केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् ।

‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् ।

यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्