नुवाकोट चौघडाका एक पुरुष काठमाडौमा मृत भेटिए



काठमाडौ,वैशाख ३ । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भएका एक जना पुरुष काठमाडौंको तारकेश्वर नगरपालिकामा मृत भेटिएका छन् ।

तारकेश्वर नगरपालिकाको वडा नं ६ स्थित धर्मस्थलीमा पुरुषको शव भेटिएको हो । मृतक नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नं ४ चौघडाका स्थायी घर भएका ५२ वर्षीय माइलो पुतुवार रहेको बालाजु प्रहरी वृत्त प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

शुक्रबार बिहान घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलार्ई खबर गरेका थिए । मृतक बिहीबार साँझ एक भोज समारोहमा उपस्थित भएको र फर्कदाँ बाटोमा गएराति आएको हावाहुरीका कारण लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शवको मुचुल्का उठाई त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजु प्रहरी वृत्तले जानकारी दिएको छ । मृतकको सनाखत भइसकेको भएपनि थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्