अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाको नयाँ कीर्तिमान



काठमाडौं, वैशाख ५ । उच्च जोखिम मानिने विश्वको दशौं अग्लो अन्नपूर्ण हिमालमा छ जना नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । सन् १९७८ देखि आरोहण शुरु भएको अन्नपूर्ण हिमालमा हालसम्म नेपाली महिलाले आरोहण गर्न सकेका थिएनन् ।

शुक्रबार मध्यान्न छ नेपाली महिलासहित ६८ जना आरोहीले एकै साथ हिमाल आरोहण गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिए । अन्य आरोहणमा पनि नयाँ कीर्तिमान हुन सक्छ तर विभागले कीर्तिमान बनाउने गरी कसैलाई अनुमति नदिएको तर नेपाली महिला भने पहिलो आरोही भएको उनको भनाई छ ।

कीर्तिमानी महिला आरोहीमा माया शेर्पा, शर्मिला स्याङतेन, पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा र दावाफुटी शेर्पा रहेका छन् । उनीहरु नेपालका व्यावसायिक महिला आरोही रहेका छन् । आरोही माया विश्वकै अग्लो हिमाल सगरमाथा, दोस्रो अग्लो हिमाल केटु र तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन् । आरोही स्याङतेनले भने सगरमाथा र मनास्लु हिमालको आरोहण गरिसकेकी छन् ।

यता, दक्षिण एसियाकै पहिलो महिला माउन्टेन गाइड दावा याङजुमले समेत अन्नपूर्ण आरोहण गरेका छन्। अर्का आरोही फोटोपत्रकार पूर्णिमा, सगरमाथामा पुगेर कफी बनाएर कीर्तिमान रचेका पहिलो बारिस्टा दावाफुटी र ट्रेकिङ गाइड एवं आरोही पासाङ ल्हामुले अन्नपूर्ण हिमाल आरोहण गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्