जीडीपीमा आईसीटीको योगदान ७७ अर्ब १६ करोड



काठमाडौं ,वैशाख ६ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । शनिवार नेपाल आर्थिक पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक ईश्वरी भण्डारीले जीडीपीमा सूचना तथा सञ्चार प्रविधिको योगदान ७७ अर्ब १६ करोड ६५ लाख रुपैयाँ रहेको जानकारी दिएका हुन् । यो रकम नेपालको कुल जीडीपीको करीब २ दशमलव २२ प्रतिशत हो । विभागको तथ्यांक अनुसार सन् २०१९/२० मा जीडीपीमा प्रकाशन प्रसारण क्षेत्रको योगदान शून्य दशमलव ४८ प्रतिशत, टेलिकम्युनिकेशनको योगदान १ दशमलव ४७ प्रतिशत र सूचना प्रविधिको २ दशमलव २२ प्रतिशत छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान गर्व गर्नलायक भएकाले अब यस क्षेत्रलाई पनि उद्योगकै रूपमा स्थापित गरेर लैजानुपर्ने तर्क गरे । उनका अनुसार १५औं योजनाको कार्यान्वयनमा सूचना तथा सञ्चार जगत्लाई अर्थतन्त्रको संवाहक शक्तिको मान्यता दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई डिजिटल प्रविधिमार्फत अघि बढाउन आईसीटी क्षेत्रमा अझ बढी सुधार गर्नुपर्ने भन्दै आगामी बजेटमा यस क्षेत्रलाई महत्त्व दिइने बताए ।

नेपालमा अहिले टेलिकम क्षेत्रको वार्षिक आम्दानी १ खर्बको हाराहारीमा छ भने करीब ६० हजारले रोजगारी पाएका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्