खाद्यले समर्थन मूल्यमा गहुँ खरीद शुरू गर्‍यो



काठमाडौं,वैशाख ७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ खरीद शुरू गरेको छ । शुक्रवारदेखि कम्पनीले बर्दियाको राजापुरबाट गहुँ खरीद गर्न थालेको हो ।

देशभरबाट ५ हजार मेट्रिकटन गहुँ खरीदको लक्ष्य लिएको कम्पनीले यस वर्ष खरीदका लागि १५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५ हजार क्वीन्टल गहुँ खरीदको जिम्मा पाएको राजापुर शाखाले शुक्रवारदेखि हालसम्म ८०० क्वीन्टल गहुँ खरीद गरिसकेको राजापुर राइस मिलका प्रमुख धर्मराज पन्तले बताए ।

उनका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँमै किसानसँग गहुँ खरीद भइरहेको छ । यो मूल्य गतवर्षको भन्दा ९६ रुपैयाँले बढी हो । यस वर्ष हिउँदे वर्षा राम्रो नहुँदा गहुँको फसल खासै राम्रो नभएको उनको बुझाइ छ । अहिले राजापुरबाट दैनिक रूपमा ४० देखि ५० जना किसानबाट गहुँ खरीद भइरहेको छ । महेन्द्रनगर, धनगढी, राजापुर, टीकापुर नेपालगञ्ज, भैरहवा, विराटनगर, वीरगञ्ज र लहान शाखामा समेत खरीदका लागि कम्पनीले निर्देशन दिइसकेको र चाँडै शुरू हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

गतवर्ष कम्पनीले ३ हजार मेट्रिकटन गहुँ खरीदको लक्ष्य लिएकोमा कोरोना महामारीका कारण प्रभावित हुँदा करीब ६० मेट्रिकटन मात्र खरीद भएको थियो । नेपालमा वार्षिक करीब २० लाख मेट्रिकटन गहुँ उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

कम्पनीले लक्ष्य अनुसार मसिनो धान खरीद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न करीब ५ हजार मेट्रिकटन मसिनो चामल समेत खरीद गर्न लागेको बताएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीले बिर्तामोड, विराटनगर, लहान, वीरगञ्ज, भैरहवा, काठमाडौं, नेपालगञ्ज लगायत ९ शाखामार्फत चामल खरीद गर्नेछ ।

बजारको माग अनुसार स्टिम जीरा मसिनो चामल, अरुवा साँवा चामल, सोना मन्सुली चामल, बासमती चामल, कालामुनिया चामल र स्टिम रन्जित चामलको खरीद गरिने कम्पनीले बताइएको छ । चामल खरीदका लागि कम्पनीले ठेक्का आह्वान गरेपछि ठेक्का सम्झौताका लागि सूचना निकालेर १५ दिनको म्याद राखेको छ ।

कम्पनीले उपभोक्ताको माग अनुसार सहुलियत मूल्यमा चामल, दाल, घिउ, कर्णालीको सिमी, फापर, गहुँ, इन्डक्सन चुल्हो, आयुर्वेदिक औषधि ‘सन्चो’, स्यानिटाइजर लगायत वस्तु पनि विक्री गर्दै आएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्