कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर



काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो ।

जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ, सो समयभित्र विवरण नआए प्रणालीले नै पछि विवरण लिने छैन, त्यसपछि स्वतः प्रणाली बन्द हुनेछ,’ कांग्रेस सहमहामन्त्री महतले कार्यतालिका परिवर्तनबारे जानकारी दिँदै भने ।

विवरण अनलाइन प्रणालीमा पठाइसकेपछि पनि सोबारे औपचारिक जानकारी पार्टी केन्द्रलाई गराउनुपर्ने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन १७ वैशाख ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्नेछ ।’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्