हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक ७ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
त्यस्तै, भोलि पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

