नुवाकोटका किसानको कृषियन्त्रप्रति आकर्षण बढ्दो, गहुँ चुट्न थ्रेसरको अधिक प्रयोग



नुवाकोट,वैशाख १० । जिल्लामा पछिल्लो समय आधुनिक कृषियन्त्रमा किसानको वर्षेनी आकर्षण बढ्दै गएको पाइएको छ । पछिल्लो समय मुलतः खेत जोत्न, धान, गहुँ चुट्न आधुनिक कृषियन्त्रको प्रयोग गर्ने किसानको संख्या ह्वात्तै वृद्धि भएको छ।

जिल्लामा पछिल्लो समय गहुँ बाली भित्र्याउन किसान ब्यस्त रहेका छन् । गहुँ खेती भित्र्याउन आवश्यक जनशक्ति र झन्झटिलो पद्धतिलाई तोडेर उनीहरु कृषियन्त्रको प्रयोगमा अभ्यस्त बन्न थालेका हुन । पञ्चकन्या गाउँपालिका भद्रुटारका किसान कृष्ण सेढाईले गहुँ चुट्न थ्रेसर प्रयोग गर्न थालेको ४ वर्ष बितिसक्यो। गाउँघरमा सडक संजालको विकाससँगै कृषियन्त्र घरघरमा पुर्याउन सहज भएको उनको अनुभव छ। खेताला खोजेर ढुङ्गामा चुट्नु,हावा पर्खिएर गहुँको कण उडाउनुको झन्झटिलो भन्दा आधुनिक कृषि यन्त्र थ्रेसरको प्रयोग सजिलो हुने किसानहरुले बताउदै आएका छन् ।

सुरुसुरुका वर्षमा तराई क्षेत्रका व्यवसायीले कृषियन्त्र थ्रेसर गाउँगाउँमा ल्याउदा महँगो ज्याला तिर्दै आएका किसान पछिल्लो वर्षमा भने स्थानीयले नै थ्रेसर खरिद गर्न थालेकाले कम ज्यालामा गहुँ चुट्न पाउँदा खुशी भएका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ६ का माधब भण्डारीले झण्डै २४ लाखमा थ्रेसर खरिद गरेको बताउँछन् । यन्त्र खरिद पश्चात् यस क्षेत्रका किसानले गहुँ,जौ,कोदो तथा तोरी कुट्न झन्झटिलो पद्धतिबाट मुक्ति पाएका छन् । पछिल्लो दिनयता गहुँ चुट्न किसानको घरघरमा भण्डारी थ्रेसर लिएर पुग्छन् । मौसमी व्यवसाय भएपनि कमाउ र झुक्याउ नभनी भण्डारीले गहुँ झार्न सस्तो र सुलभ प्रतिमिनेट ५० रुपैयाँ मूल्य कायम गरेका छन्। तराई क्षेत्रका व्यवसायीले सुरुमा ६० देखि ७० रुपैयाँ प्रतिमिनेट लिने गरेका किसान स्थानीय बजारमा थ्रेसर प्रतिस्पर्धाले राहत महसुस गर्न थालेको बताउँछन् ।

पछिल्लो समयमा नुवाकोट जिल्लामा किसानहरुले झण्डै २५ हेक्टर जमिन क्षेत्रफलमा गहुँ खेती लगाउदै आएका छन् । जिल्लामा उत्पादित गहुँमध्ये ५० मेटि्रकटन भन्दा ज्यादा गहुँको बिउ अन्य जिल्लामा बिक्रीवितरण गरिने नमूना किसान राम पुडासैनीले बताए ।

जिल्लाको लिखु,ढिकुरे,शिखरबेसी,भद्रटार,शिवपुरी लगायत क्षेत्र गहुँ उत्पादनको पकेट क्षेत्र मानिदै आएको छ। यस क्षेत्रमा धान गहुँ चुट्न र समथर खेत जोत्न समेत कृषियान्त्रिकरणको प्रयोग बढ्दै गइरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्