सीईडीबि हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै मागभन्दा २.७८ गुणा बढी आवेदन



काठमाडौं,वैशाख १८ । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २ दशमलव ७८ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साझ ५ बजेसम्म ३ लाख ९० हजार १० जना आवेदकबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर खरीदको लागि आवेदन  परेको हो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको  खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड १९ जोखिमलाई ध्यान दिंदै मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । 

२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करीब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । 

कम्पनीद्वारा प्रबर्द्धित सांगे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र कुमगाडा जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । 

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म यस कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्