ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
रुकुम पश्चिम,कात्तिक ७ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकै बाटोमा खेलिरहेका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथमाथि सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा टाउकोमा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको थियो।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा सोही दिन राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
प्रहरीले ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

