कोरोना संक्रमणबाट थप २४ जनाको ज्यान गयो



काठमाडौं, वैशाख २३ । कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। गएरातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको हो।

मृत्यु हुनेहरूको तथ्यांकअनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४ र ४ जना, पाल्पा, बागलुङ र पर्सामा २ र २ जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिहरुले उल्लेख गरेका छन्।

बाँकेमा एकै रातमा १० जनाको कोरोनाबाट मृत्यु भएको छ। भेरी अस्पताल बाँकेमा ७८, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष, ४३ महिला, ५५ वर्षीय पुरुष, ७८ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष, ५६ वर्षीय पुरुष,४५ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै ३४ वर्षीय संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

कैलालीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् । धनगढी गोदावरीकी ७८ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा टीकापुरका ६७ वर्षीय पुरुष र ८२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनीहरुको उपचारका क्रममा गए रातिदेखि आज बिहानसम्म जिल्लास्थित विभिन्न अस्पतालमा मृत्यु भएको जोशीले बताए।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष रहेको अस्पतालका ब्यबस्थापन द्रोण ओलीले जानकारी दिए। चारै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ। एक जना कोरोना संक्रमित र एक जना शंकास्पद संक्रमितको मृत्यु भएको हो।

बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरे बताए।

स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ वर्षीया पुरुषको बुधबार राति नै मृत्यु भएको छ। सघन उपचार कक्षमा उनको उपचार भैरहेको थियो।

यस्तै कोरोना भाइरसको संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ। तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

तानसेन नगरपालिका–३, भगवती टोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। माथागढी गाउँपालिका–३, कसेनीकी २५ वर्षीया महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताए।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

यस्तै वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ। मृतक मध्ये एक जना वीरगन्ज महानगरपालिका ४ बिर्ताका र अर्को गौर २ रौतहटका पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए।

प्रतिक्रिया दिनुहोस्