बाढीले उजाडियो ऐतिहासिक बेत्रावती, हराउँदैछन् धार्मिक र सांस्कृतिक पहिचान
• हेमनाथ खतिवडा
रसुवा,कात्तिक २७ — रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती कुनै समय धार्मिक आस्था, ऐतिहासिक विरासत र व्यापारिक चहलपहलको केन्द्र थियो। त्रिशूली, बेत्रगंगा र रुद्रगंगाको संगम, उत्तरगयाधामको पवित्र भूमि र नेपाल–तिब्बतबीचको ऐतिहासिक सम्बन्ध बोकेको यो ठाउँ अहिले भने बाढीले छाडेको खण्डहरमा परिणत भएको छ।
उत्तरगया गाउँपालिका–५ र विदुर नगरपालिका–१० को सिमानामा पर्ने बेत्रावती कालिका, उत्तरगया, विदुर र किस्पाङ क्षेत्रका बासिन्दाको अन्त्येष्टि स्थलसमेत हो। पुस्तौँदेखि धार्मिक संस्कार, परम्परा र सामाजिक सम्बन्धसँग जोडिएको यो भूमि गत भदौ १० गते लेन्दे खोलाबाट भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आफ्नो पुरानो स्वरूपबाट टाढिएको छ।
उर्लेर आएको भोटेकोशीले नदी किनारका घर, पसल र स्थानीय पूर्वाधार क्षणभरमै बगायो। कुनै समय व्यापारिक गतिविधिले भरिभराउ हुने बजार बगरमा परिणत भयो। बाढीले ठूलो धनजनको क्षति पुर्याउनुका साथै सयौँ स्थानीयलाई बेपत्ता, विस्थापित र घरबारविहीन बनायो। हिजोसम्म मानिसको आवतजावत, व्यापार र धार्मिक गतिविधिले गुञ्जायमान रहने बेत्रावती अहिले सुनसान छ।
तर बेत्रावतीको क्षति घर, पसल र भौतिक संरचनामा मात्रै सीमित छैन। यसले यहाँको धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक पहिचानसमेत संकटमा पारेको छ।
पितृमोक्षको विश्वास बोकेको उत्तरगया
हिन्दू धर्मावलम्बीका लागि बेत्रावती उत्तरगयाधामका रूपमा प्रसिद्ध छ। त्रिशूली गंगा, बेत्रगंगा र रुद्रगंगाको त्रिवेणी संगम रहेको यस क्षेत्रमा पौषे औँसीका दिन पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, पिण्डदान र अन्नदान गर्ने परम्परा छ।
देशका विभिन्न भागका साथै भारतबाट समेत हजारौँ श्रद्धालु यहाँ आउने गर्दथे। उत्तरगयामा विधिपूर्वक श्राद्ध तथा पिण्डदान गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक जनविश्वास छ। यही आस्थाका कारण बेत्रावती पुस्तौँदेखि पितृकार्य गर्ने महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित छ।
हिन्दू धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको नाममा श्राद्ध, तर्पण र दान गर्ने यस क्षेत्रमा बौद्ध धर्मावलम्बीले पनि मृतक आफन्तको सम्झनामा लामाबाट मन्त्रपाठ गराउने र बत्ती बाल्ने परम्परा छ। यसले बेत्रावतीलाई विभिन्न धार्मिक आस्था र संस्कृतिको साझा स्थलका रूपमा चिनाएको छ।
धार्मिक किंवदन्तीअनुसार सत्ययुगमा समुद्र मन्थनबाट निस्किएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान् शिवले उक्त विष पान गर्नुभएको थियो। विषको डाह शान्त पार्न उहाँले यही ठाउँमा लौरोले खोस्रेर तप्त नदी उत्पन्न गराउनुभएको र त्यसको पानीले शीतलता प्राप्त गरी गोसाइँकुण्डतर्फ प्रस्थान गर्नुभएको विश्वास गरिन्छ। यस्ता धार्मिक मान्यता र किंवदन्तीले उत्तरगयाको महत्त्वलाई अझ विशिष्ट बनाएका छन्।
मेला र पर्वले जीवन्त बनाउने बेत्रावती
बेत्रावतीको अर्को महत्वपूर्ण पहिचान यहाँ लाग्ने धार्मिक तथा सांस्कृतिक मेला हुन्। पौषे औँसी, हरिबोधिनी एकादशी, बालाचतुर्दशी, रामनवमी, दशहरा, ऋषितर्पणी र कुशे औँसीलगायत पर्वमा यहाँ श्रद्धालुको ठूलो भीड लाग्ने गर्दथ्यो।
पौषे औँसीमा पितृकार्यका लागि आउने भक्तजनले उत्तरगयाधामलाई धार्मिक रूपमा जीवन्त बनाउँथे। त्यस्तै, हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशीका अवसरमा रातभर पूजा आराधना गर्ने, फूलको डोली लैजाने, तारण तार्ने तथा घरघरमा तुलसी विवाह गर्ने परम्परा छ। तुलसी र भगवान् दामोदर अर्थात् शालिग्रामको प्रतीकात्मक विवाह गराउने यो परम्पराले बेत्रावतीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ।
माघे सङ्क्रान्तिमा लाग्ने गोरु जुधाइ मेला भने बेत्रावतीको छुट्टै आकर्षण हो। नेपाल–तिब्बत युद्धका क्रममा विसं १८४९ असोज १७ गते भएको बेत्रावती सन्धिपछि विजय उत्सवका रूपमा गोरु जुधाउने परम्परा सुरु भएको जनविश्वास छ। यो मेला हेर्न र स्थानीय संस्कृति अवलोकन गर्न देशका विभिन्न स्थानबाट पर्यटक तथा दर्शक आउने गर्दथे।
यी मेला र पर्वले बेत्रावतीलाई धार्मिक तीर्थस्थलमा मात्रै सीमित नराखी स्थानीय संस्कृति, पर्यटन र सामाजिक एकताको केन्द्रका रूपमा समेत स्थापित गरेका थिए।
इतिहासको साक्षी बेत्रावती
बेत्रावतीको महत्त्व धार्मिक आस्थामा मात्रै सीमित छैन। नेपाल र तिब्बतबीच भएको युद्धपछि विसं १८४९ असोज १७ गते यही क्षेत्रमा बेत्रावती सन्धि भएको ऐतिहासिक तथ्यले यस ठाउँलाई राष्ट्रिय इतिहाससँग जोडेको छ।
परापूर्वकालदेखि व्यापारिक नाकाका रूपमा परिचित बेत्रावतीमा बजारको चहलपहल, स्थानीय उत्पादनको कारोबार र आवतजावतले यस क्षेत्रको आर्थिक गतिविधिलाई गति दिएको थियो। धार्मिक मेला, व्यापार र ऐतिहासिक विरासत एकै ठाउँमा जोडिनु बेत्रावतीको विशिष्टता थियो।
तर भदौ १० गतेको बाढीले यही पहिचानमाथि गम्भीर प्रहार गरेको छ। बजारका संरचना बगेसँगै यहाँको पुरानो व्यापारिक स्वरूप पनि भत्किएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने स्थलहरू प्रभावित भएका छन्।
अब कसरी फर्किएला पुरानो बेत्रावती?
बेत्रावती अहिले पुनर्निर्माणको पर्खाइमा छ। बाढीले बगाएका घर र पसल पुनःनिर्माण गर्नु एउटा चुनौती हो भने पुस्तौँदेखि चल्दै आएका धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनु अर्को महत्वपूर्ण जिम्मेवारी बनेको छ।
बजार कहाँ र कसरी पुनःस्थापना गर्ने, नदीको जोखिमबाट बस्ती तथा धार्मिक स्थललाई कसरी सुरक्षित राख्ने र पुरानो व्यापारिक तथा सांस्कृतिक पहिचान कसरी जोगाउने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।
बेत्रावती केवल एउटा बजार होइन, यो हजारौँ मानिसको धार्मिक विश्वास, पुर्खाको स्मृति, ऐतिहासिक विरासत र सांस्कृतिक जीवनसँग जोडिएको साझा सम्पदा हो। त्यसैले यसको पुनर्निर्माण भौतिक संरचना खडा गर्ने काममा मात्र सीमित हुनु हुँदैन। उत्तरगयाधामको धार्मिक महत्त्व, ऐतिहासिक बेत्रावती सन्धिको विरासत र पुस्तौँदेखि चल्दै आएका मेला तथा पर्वको निरन्तरतालाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ।
हिजो नदी किनारमा गुञ्जिने मेलाका आवाज, व्यापारिक चहलपहल र पितृकार्यका लागि आउने श्रद्धालुको भीड आज सम्झनामा सीमित हुँदै गएको छ। बाढीले उजाडिएको बेत्रावती फेरि कहिले उठ्ने हो भन्ने प्रश्न अनुत्तरित छ। तर यसको पुनरुत्थानसँग जोडिएको आशा भने अझै जीवित छ।

