चार हजार भाइल रेमडिसिभिर नेपाल भित्रियो, सञ्जिवनी र नुवाकोट अस्पताललाई २४/२४ भाइल



नुवाकोट,वैशाख २३ । कोभिडका बिरामीका लागि अत्यावश्यक रेमडिसिभिर औषधि थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रालिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ।

कोभिडको सबै खालका बिरामीका लागि रेमडिसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकहरुले उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ। रेमडिसिभिर औषधि आगामी दिनमा कोभिड अस्पतालहरुमा सहज उपलब्ध हुँदै जाने विभागले जनाएको छ।

उक्त औषधि विभागले ४५ वटा अस्पतालहरुमा वितरण गर्ने जनाएको छ। हाल औषधि प्राप्त गर्ने अधिकांश अस्पताल काठमाडौं उपत्यका बाहिरका छन्। जस अन्तर्गत नुवाकोटको सञ्जिवनी र नुवाकोट अस्पतालले २४/२४ भाइल प्राप्त गरेको छ।

यसअघि मंगलबार काठमाडौं भित्रिएको तीन हजार भाइल रेमडिसिभिर देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको थियो। जसमध्ये अधिकांश अस्पताल काठमाडौं केन्द्रित थिए।

कुन अस्पतालले कति पाए रेमडिसिभिर

नोबेल मेडिकल कलेज विराटनगर, नेपालगञ्ज मेडिकल कलेज, सिएमसी अस्पताल चितवन, वीर अस्पताल र किष्ट अस्पताल ललितपुरलाई समान १०२ भाइल औषधि वितरण गरिएको छ।

मकवानपुरको हेटौंडा अस्पतालका लागि २४ भाइल, पुलिस अस्पताल काठमाडौं ५४, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल २४६, भेरी अञ्चल अस्पताल १९८, एम्स अस्पताल विराटनगर ३०, नोबेल अस्पताल काठमाडौं ३६, र्कीतिपुर अस्पताल २४, मणिपाल मेडिकल कलेज १०२, नारायणी अञ्चल अस्पताल वीरगञ्ज १५०, युसीएमएस भैरहवा १०२, चरक मेमोरियल पोखराले १०२ भाइल औषधि प्राप्त गरेका छन्।

यस्तै, अल्का अस्पताल काठमाडौं ५४, हेल्पिङ ह्याण्ड्स कम्युनिटि अस्पताल काठमाडौं ८४, जनकपुर प्रादेशिक अस्पताल १०२, ह्याम्स अस्पताल ४८, सञ्जिवनी अस्पताल नुवाकोट २४, विराट मेडिकल कलेज विराटनगर १०२, चितवन मेडिकल कलेज भरतपुर ४८, भरतपुर अस्पताल ५४, गण्डकी मेडिकल कलेज ५४, सुर्खेत प्रादेशिक अस्पताल ५४, श्री मेमोरियल अस्पताललाई १२ भाइल रेमडिसिभिर वितरण गरिएको विभागले जनाएको छ।

कोशी अञ्चल अस्पताल १०२, नवलपुर अस्पताल नवलपरासी २४, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७२, दकम अस्पताल ३६, पृथ्वी चन्द्र अस्पताल नवलपरासी २४, डडेल्धुरा अस्पताल २४, सिभिल अस्पताल ५४, धुलिखेल अस्पताल ५४, नुवाकोट अस्पताल २४, तौलिहवा जिल्ला अस्पताल २४, लुम्बिनी अस्पतालले ७२ भाइल औषधि पाएका छन्।

यस्तै, विभागका अनुसार धनगढी अस्पताल, भीम अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनमोहन मेमोरियल अस्पताल र बीएण्डसी अस्पतालले समान २४ र २४ भाइल औषधि पाएका छन्।

प्रतिक्रिया दिनुहोस्