चीनको निर्यातमा अनपेक्षित वृद्धि



पेचिङ (चीन),वैशाख २६ । गत महीना चीनको निर्यातामा अपेक्षा नै नगरिएको वृद्धि देखिएको छ ।

कोरोना भाइरसको महामारीबाट अमेरिकी अर्थतन्त्रमा आएको तीव्र सुधार बीच माग बढेसँगै चीनको निर्यात बढेको छ । महामारीको दोस्रो लहर बीच भारतमा कारखाना गतिविधि सुस्ताउँदा पनि विश्व बजारमा चीनमा निर्मित सामानको माग बढेको हो । 

अप्रिलमा चीनको डलरमा आधारित निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतभन्दा धेरैले बढेर करीब २ खर्ब ६४ अर्ब डलरमा उक्लिएको छ । 
सोही अवधिमा आयात पनि ४३ प्रतिशतले बढेको छ । आयातमा भएको यो वृद्धि एक दशकभन्दा बढी समययताकै उच्च हो ।

अमेरिकासँग जारी व्यापार युद्धको बीचमा पनि चीनले अमेरिकाबाट आयात गरेको भन्दा ४३ अर्ब डलर बढी सामान निर्यात गरेको छ । तर केही मुख्य चुनौतीका कारण चीनको अर्थतन्त्रमा आर्थिक पुनर्बहाली स्थिर बनेको छ । 

यस वर्षको पहिलो तीन महीनामा १८ दशमलव ३ प्रतिशतको कीर्तिमानी स्तरमा बढेको चीनको अर्थतन्त्रमा दोस्रो त्रैमासमा सुस्ती आउने विश्लेषकहरुको अनुमान छ । महामारीका कारण विश्वको आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएपछि यसको प्रभाव चिनियाँ अर्थतन्त्रमा देखिने उनीहरुको भनाइ छ ।

विश्वभर माइक्रोचिपको अभावका कारण पनि म्यानुफ्याक्चररहरु मारमा परेका छन् । चीनको कारखाना गतिविधि अघिल्लो महीनाको तुलनामा अप्रिलमा सुस्ताएको आधिकारिक तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्