दसैँपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै ७ हजारभन्दा बढी पर्यटक



मुस्ताङ,कात्तिक ७ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको छ। प्राकृतिक विपद्का कारण बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्रमा दसैँपछि पर्यटक आगमन बढेसँगै उत्साह थपिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दसैँको टीकापछिका दुई दिन बिहीबार र शुक्रबारमा मात्रै सात हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। बिहीबार तीन हजार ३३ जना र शुक्रबार चार हजार ८१३ जना पर्यटक मुस्ताङ पुगेका हुन्।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या क्रमशः बढिरहेको छ।

यसअघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी, पहिरो र नदी कटानले बेनी–जोमसोम सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बनेको थियो।

घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनमा पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए। तीमध्ये तीन हजार ७३८ पुरुष र एक हजार ९२५ महिला रहेका थिए। उक्त अवधिमा चार हजार ४०९ जना अर्थात् ७७ दशमलव ८५ प्रतिशत विदेशी पर्यटक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ पुगेका छन्।

दसैँ–तिहारको बिदामा निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र देशका विभिन्न स्थानबाट घुम्न निस्कने पर्यटकका कारण पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ। दसैँ, तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्नेमा यहाँका पर्यटन व्यवसायी आशावादी छन्।

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको मुस्ताङमा मुक्तिनाथ मन्दिर, कोरला नाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल र टिटी ताललगायतका पर्यटकीय गन्तव्य छन्। यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, हिमाली भू–दृश्य, जैविक विविधता र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

प्राकृतिक विपद् र सडक अवरोधका कारण प्रभावित बनेको मुस्ताङको पर्यटन क्षेत्र दसैँपछि पर्यटक आगमन बढेसँगै पुनः चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्