सामाजिक सञ्जालबाट पार्टीका गतिविधि प्रचार गर्न नेकपाको निर्देशन



काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रचार प्रणाली व्यवस्थित गर्दै सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमको प्रभावकारी उपयोग गर्ने भएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा दुईमहिने राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन सबै तहका पार्टी कमिटीलाई आधिकारिक डिजिटल सञ्चार माध्यम व्यवस्थित गर्न निर्देशन दिएका छन्।

सर्कुलरमा अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न भनिएको छ। सामाजिक सञ्जाल, वेबसाइट र डिजिटल बुलेटिनमार्फत पार्टीका आधिकारिक सामग्री एकरूपता र विश्वसनीयताका साथ जनतामाझ पुर्‍याउने तथा तथ्यहीन र भ्रमपूर्ण सूचनाको तथ्यगत खण्डन गर्ने योजना पार्टीले अघि सारेको छ।

नेकपाले अभियानका कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक विधिअनुसार सञ्चालन गर्न पनि निर्देशन दिएको छ। व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना तथा तथ्यहीन प्रचारबाट बच्न पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराइएको छ।

त्यस्तै, अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने, अनुचित प्रभाव प्रयोग गर्ने तथा पार्टीको आधिकारिक निर्णयविपरीत संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन सर्कुलरमा उल्लेख छ।

पार्टीले महिला, दलित, जनजाति, मधेसी तथा अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र संगठनात्मक अनुशासन पालना गर्न निर्देशन दिएको छ।

दुईमहिने राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन डिजिटल सञ्चारलाई महत्त्वपूर्ण माध्यमका रूपमा उपयोग गर्ने नेकपाको योजना छ। पार्टीले सञ्चारका माध्यम प्रयोग गर्दा तथ्यपरकता, विश्वसनीयता, गोपनीयता र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्