पर्वतीय पर्यटनमा उत्साह : व्यवसायीलाई आवतजावतमा अवरोध



काठमाडौं,वैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा भन्दा संक्रमणको महामारीको समयमा पर्वतारोहीहरू बढी आएका छन् । रोयल्टी संकलन पनि ५० प्रतिशतले बढेको छ । यसबाट उत्साहित व्यवसयाीहरू सरकारी निकायबीच समन्वय नहुँदा सास्ती खेप्न बाध्य भएका हुन् ।

पर्यटन विभागबाट सम्बद्ध एजेन्सीहरू तथा व्यवसायीहरूले नेपाल आउने पर्यटकलाई विमानस्थलदेखि होटेल तथा अन्य गन्तव्यसम्म पुर्‍याउन आवतजावत गर्न पास पाएका हुन्छन् । व्यवसायीसँग सम्बद्ध एजेन्सीका प्रतिनिधिहरू विमानस्थल वा अन्य कुनै स्थानसम्म जाँदा उक्त सवारीमा पर्यटक हुँदैनन् र अर्काेतर्फ गन्तव्यमा पुर्‍याएर फर्किंदासमेत उनीहरूसँग पर्यटक साथमा हुँदैनन् ।

यति नै बेला प्रशासनले विभागको उक्त पासलाई मान्यता नदिई प्रतिनिधिहरूलाई विभिन्न स्थानमा दिनभर तथा घण्टौंसम्म नै रोकेर राख्ने गर्दा सास्ती खेप्न बाध्य भएको व्यवसायीले बताएका हुन् ।

पर्वतारोहण व्यवसायीहरूको छाता संगठन एक्सपिडिसन अपरेटर एशोसिएशन (ईओए) नेपालका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई लिन जाने समयमा एजेन्सीका सवारी र प्रतिनिधिहरूलाई रोक्दा उनीहरू समयमै नपुगेको र पर्यटक अलमलमै पर्ने गरेको बताउँछन् । ‘यसले गर्दा अहिले पर्यटक र विश्वसामु नै हामीमाथिको विश्वास गुम्न सक्नेसम्मको खतरा बढेको छ,’ पराजुलीले भने, ‘पर्यटक बोकेर गन्तव्य तथा होटेलसम्म पुर्‍याउँदा समस्या छैन तर उनीहरूलाई लिन जाँदा र पुर्‍याएर फर्किएका प्रतिनिधिहरूलाई अत्यधिक सास्ती दिइएको छ ।’

उनका अनुसार अहिले आरोहणका लागि अनुमति पाएकामध्ये हालसम्म ७५० जति पर्वतारोही नेपाल आएका छन् । मन्त्रालय र विभागले पास उपलब्ध गराएका हुन्छन्, त्यसलाई देखाएर आवतजावत गर्नका लागि प्रशासन कार्यालयबाट सहजीकरण नभएको उनको गुनासो छ । अहिलेको जटिल अवस्थामा सन् २०१९ को यही सिजनमा भन्दा ५० प्रतिशत बढी रोयल्टी संकलन भएको छ । तर, पर्यटनलाई चलायमान बनाउन लागिपरेका व्यवसायी तथा एजेन्सीहरूलाई सरकारी निकायबाट कुनै खालको सहयोग नभएको पराजुलीले आरोप लगाए ।

अहिले सिंगो पर्यटन क्षेत्र थलिँदा पर्वतीय पर्यटनमा आशा देखिएको छ । व्यवसायीहरू जटिल अवस्थाका बीच पर्वतारोहण गराउन लागिपरेकाले उनीहरूलाई निरुत्साहित नबनाउन आग्रह गरिएको छ ।

पास र आवतजावतका लागि जतिसक्दो छिटो स्पष्ट र सहजीकरण गर्न प्रशासनले सघाउन जरुरी भएको पराजुलीले बताए । विभागका एक अधिकारीले पनि विभागले पास उपलब्ध गराए पनि प्रशासनबाट असहयोग हुँदा व्यवसायी तथा एजेन्सीहरूले दुःख पाएको बताए ।

‘यस्तो जटिल समयमा पनि पर्यटक विमान चार्टर्ड गरेर आउन इच्छुक छन्,’ ती अधिकारीले भने, ‘यसलाई निरुत्साहित हुन नदिन र पर्यटकलाई सहज वातावरण उपलब्ध गराउन सबैको सहयोग आवश्यक छ ।’

नेपालमा अहिले कोरोना भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको छ । तर, सरकारले पर्वतारोहणका लागि स्वीकृति दिन र रोयल्टी संकलन गर्न भने रोकेको छैन । शुक्रवारसम्म पनि विभागले सगरमाथा आरोहणका लागि परमिट जारी गरेको छ ।

‘कि त परमिट र रोयल्टी संकलन पनि रोक्नु पर्‍यो,’ एक व्यवसायीले भने, ‘यी काम पनि नरोक्ने, तर एजेन्सीका प्रतिनिधिहरूको आवतजावतमा भने अवरोध सृजना गर्ने ? यो व्यावहारिक भएन ।’

विभागका अनुसार अहिले ७८ देशका नागरिकहरूले नेपालका विभिन्न हिमाल तथा पिकहरू आरोहणका लागि अनुमति पाएका छन् । २०२० को वसन्त ऋतुमा शून्य पर्वतारोहण भएको थियो तर २०२१ को यो सिजनमा भने हालसम्म ८५ आरोहण दलबाट ७४२ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागका अनुसार सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागि अनुमति पाएका छ । सगरमाथा आरोहणका लागि ४०८ जनाले अनुमति पाएका छन् । शुक्रवार मात्रै १२ जना नेपाली शेर्पाहरूले सगरमाथा आरोहण सफलापूर्वक सम्पन्न गरेका छन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्