लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता



लुम्बिनी,वैशाख २६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यी विपक्षी दलका ४० सांसदहरुको हस्ताक्षरसहित आइतबार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको बताइएको छ । माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध बैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

सो अविश्वास प्रस्तावमाथि छलफलका लागि बैशान १९ गते प्रदेश सभा बैठक बोलाइएको थियो । तर सोही बिहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिई संसद अधिवेशन अन्त्य गरेपछि अविश्वास प्रस्ताव माथिको छलफलको प्रक्रिया नै समाप्त भएको थियो । यद्यपी प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले सोही दिन पोखरेललाई पुन बहुमत सदस्य हस्ताक्षरका आधारमा मुुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

विपक्षी सांसदहरुले आइतबार नै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन पनि दिएका छन् । लुम्बिनी प्रदेशमा हाल ७९ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्