विश्वास लिन कडा कसरत



काठमाडौं,वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वेच्छिक विश्वासको मत लिँदैछन्। विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन्।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध समानान्तर समिति देशव्यापी बनाउँदै लगेका छन्। ओलीलाई विश्वास दिनुअघि नै राजीनामा गर्ने उक्त खेमाको धम्की अन्तिम घडीसम्म छँदैछ। त्यसैले ओलीको विश्वास पाउन सबैभन्दा ठूलो चुनौती ‘आन्तरिक विश्वासकै संकट’ बनेको छ।

ओली नेतृत्वमा २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनले झन्डै दुईतिहाई मत पाएको थियो। त्यही बलमा सत्तामा आएका ओलीको राजनीतिमा ३८ महिना सुखद रहेन। २ सय ७५ जनाको प्रतिनिधि सभामा एमालेले १ सय २१ र माओवादी केन्द्रले ५३ सिट ल्याए।  २०७४ फागुन ३ मा संविधानको धारा ७६ (२) बमोजिम ओलीको नेतृत्वमा एमाले र माओवादीको संयुक्त सरकार बन्यो।

२०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकीकरण भई नेकपा बन्यो। तर, ओलीलाई सत्ताबाट ओराल्ने आन्तरिक खेल बढ्दै गयो। त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेपालको मोर्चाबन्दी भयो। त्यसकै सेरोफेरोमा राजनीति दुई वर्ष मडारियो। अन्तत: प्रतिनिधिसभा विघटन, पुन:स्थापना र नेकपा एकीकरण खारेजीको अदालती फैसलासँगै त्यसले नयाँ मोड लियो।

नेकपा विवादको चरण–चरणमा दाहाल–नेपाल मिलेर ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको निर्णय गरेका थिए। र, नेपाल दोस्रो अध्यक्ष र दाहाल संसदीय दलको नेता घोषित भएका थिए। जब एमाले–माओवादी छुट्टिए, नेपाल समूहसहित एमालेमै फर्किए।

तर, पुरानो अहम्मा दुवै नेता अल्झिए। फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको मात्र भेला गराएर महाधिवेशन आयोजक समिति बनाए। त्यसमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरिए। नेपाल पक्षका नेताहरू जिम्मेवारीविमुख गराइए। माओवादीबाट आएका २२ नेताले जिम्मेवारी पाए।

नेपालले अहिले त्यही निर्णय खारेजीको अडान राख्दै आएका छन्। ओली भने त्यसलाई कायमै राख्न चाहन्छन्। यही अहम्का कारण पार्टी फुट्ने चरणमा पुगेको छ। नेपालसहित एमालेकै नेता ओलीलाई सत्ताच्युत गराउने अभियानमा छन्। त्यही परीक्षामा ओलीले आफूलाई उतारेका छन्।

माधव पक्षबाट राजीनामाको धम्की
माधव नेपाल पक्ष राजीनामा असस्त्र प्रयोग गरेर पार्टीमा आप्mनो माग पूरा गराउन प्रयासरत छन्। उनीहरूले सोमबार बिहान ९ बजेसम्मका लागि अध्यक्ष ओलीलाई आफ्ना माग पूरा गर्न समय दिएका छन्।

एमालेको माधव पक्षका सांसदले राजीनामा बुझाउन चेतावनी दिएका छन्। विशेष अधिवेशन सुरु हुनु पूर्व सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसद मेटमणि चौधरीले जानकारी  दिए। ‘आइतबारै बुझाउने भनेको हो। तर, तयारी पुगेन। सोमबार साढे ९ बजे नै सिंहदरबार पुगेर राजीनामा दिन्छौं,’ सांसद चौधरीले भने। उनले समानुपतिकसमेत गरेर राजीनामा दिने सांसदको संख्या ३० जना हुने दाबी गरे। पार्टी एकता विषयमा माधवकुमार नेपाल तथा ओली पक्षका सुवास नेम्बाङ र विष्णु पौडेलबीच आइतबार सिंहदरबारमा वार्ता भयो। यो संवादले कुनै प्रगति भएन।

गत बुधबारबाट पार्टी एकढिक्का बनाउने विषयमा संवाद सुरुवात भएको थियो। दोस्रो तहका नेताको प्रयास सफल हुन सकेन। नेम्बाङ, पौडेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसालबीच पटक–पटक छलफल भयो। कार्यदल बनाएर अघि बढ्ने सम्मको सहमति भयो तर नेपाल अडानबाट पछि नहटेपछि निश्कर्षमा पुग्न  सकेन ।

माधव नेपाल पक्षको २०७५ जेठ २ को अवस्थामा फर्किनु पर्ने अडान  कायम छ। संस्थापन पक्ष जेठ २ को अवस्थामा फर्किनु परे पनि पार्टीबाट छलफल गरेर निश्कर्षमा पुग्न सकिने बताउँदै आएको छ। संस्थापन पक्षका एक नेताले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको छ, पार्टीमा आउनुहोस्, यही छलफल गरौं, जहाँ फर्किने हो, त्यो छलफल पछि निश्कर्षमा पुगौं। तर, उहाँहरू छलफलमै नआउने, छुट्टै हिँड्ने, राजीनामाको हल्ला चलाउने, अनि कहाँ निश्कर्षमा पुगिन्छ त ?’ एमालेको उपनेता सुवास नेम्बाङले निश्कर्षमा नपुगे पनि संवाद जारी रहेको बताए।

पार्टीले कसैलाई काखापाखा गर्दैन : ओली
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले कसैलाई काखापाखा वा पक्षपात नगर्ने स्पष्ट पारेका छन्।  भ्रम फैलाएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पक्षपात नगरेको उनको दाबी छ। उनले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुनसमेत आह्वान गरेका छन्।

‘यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्तापार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु’, अध्यक्ष ओलीले भनेका छन्, ‘भ्रम फैलाइए जस्तो र हल्ला चलाइए जस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन। म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु।’

उनले राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै सहिदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट यहाँ  आइपुगेको  स्पष्ट पारेका छन्। ‘राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ,’ उनले भनेका छन्, ‘जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी– नेकपा (एमाले)लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो।’

ओलीले माधव नेपाल पक्षका गतिविधितर्फ लक्षित गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको बताएका छन्। यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने उनको भनाइ छ। ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्’, उनले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दु:खद् प्रवृत्तिहरू पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।’

उनले इतिहासले कसैलाई माफी नगर्नेसमेत बताएका छन्। ‘यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु’, उनले भने।

एमालेको ह्वीप
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मत दिन निर्देशन दिएका छन्। ओलीले वैशाख २७ गतेको दिनको १ बजे नेपालको संविधानको धारा १०० उपधारा १ बमोजिम विश्वासको मत लिँदैछन्।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको प्रमुख सचेतक भट्टराईले जानकारी गराएका छन्। कोभिडको कारण प्रतिकूल अवस्थाका संसद अधिवेशनको पूर्वसन्ध्यामा संसदीय दलको बैठक राख्न सम्भव नभएको पनि उनले स्पष्ट पारेका छन्।

जसपा सांसदलाई स्वेच्छा
प्रधानमन्त्रीको विश्वासको मतको विषयमा जनता समाजवादी पार्टीले आफ्ना  सांसदलाई ह्वीप नलगाउने भएको छ।  महन्थ ठाकुर र राजेन्द्र महतो समूह तटस्थ  बस्नुपर्ने र डा.बाबुराम भट्टराई उपेन्द्र यादव समूह विपक्षमा मतदान गर्ने अडानमा रहेका कारण जसपाको पदाधिकारी बैठकले ह्वीप  नलगाउने निर्णय गरेको हो।

जसपा नेता राजकिशोर यादवले सांसदलाई खुला छोड्ने लोकतान्त्रिक परिपार्टी अवलम्बन गर्दै ह्वीप जारी नगर्ने निर्णय पार्टीले गरेको जानकारी दिए। तर, विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको उनले बताए। ‘ह्वीप पनि कसैलाई लाग्दैन। तटस्थ बस्न चाहने तटस्थ बस्नु हुन्छ। विपक्षमा हाल्ने साथीहरू मतदान गर्न सक्नुहुन्छ,’ निर्णयबारे नेता यादवले भने, ‘सांसदलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेका छौं।’

पदाधिकारी बैठक अघि जसपा नेता ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा र विपक्षी दलको नेता शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेट गरेका थिए। भेटमा उनीहरूले तटस्थ बस्ने जानकारी गराएका थिए। तर, संघीय परिषद्का संयोजक बाबुराम भट्टराईको निवासमा भएको पदाधिकारी बैठले सांसदलाई स्वविवेकको प्रयोग गर्ने दिने निर्णय भएको हो।

राजमोले विश्वासको मत नदिने
राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। केपी ओली सरकारले देशलाई अनिर्णयको बन्दी बनाउँदै विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य–मान्यता र विधि प्रक्रियाको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री ओलीको विपक्षमा जाने बताएको छ।

राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले यो सरकारले संवैधानिक व्यवस्था, बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता र राजनीतिक नैतिकताको खिल्ली उडाएकोले प्रधानमन्त्रीको विश्वासको विपक्षमा मत जाहेर गर्ने निर्णय गरेको बताए।

ओली नेतृत्वको केन्द्रीय सरकार र प्रदेश सरकारका यसप्रकारका हर्कतले देशको विद्यमान संविधान, गणतन्त्र र संसदीय मूल्य मान्यता र विधि प्रक्रियाको उल्लंघन भएको पार्टीले जनाएको छ।

राष्ट्रिय जनमोर्चाले वर्तमान केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म एक भएर ओलीको अधिनायकवादविरूद्ध लाग्ने जनाएको छ। नेता शर्माले नयाँ सरकार गठनमा पनि आफूहरूले सहयोग गर्ने बताए। तर, राष्ट्रिय जनमोर्चालाई केन्द्रदेखि प्रदेश सरकारमा सहभागी हुन भनिए तापनि सरकारमा भने सहभागी नहुने स्पस्ट पारेको छ।

आफूहरूले सरकार बन्दा वामपन्थी भनेर साथ दिएको तर अब केपी ओली नसच्चिए साथ दिन नसकिने राष्ट्रिय जनमोर्चाले जनाएको छ।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्