१२ वर्षदेखि विवादमै अल्झियो सालझण्डी –ढोरपाटन सडकको काम



अर्घाखाँची,वैशाख २७ । १२ वर्षदेखि अर्घाखाँची जिल्लालाई छोएर जाने राष्ट्रिय महत्व बोकेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्डको ट्रयाक खोल्ने काम अलपत्र परेको छ ।

निर्वाचनको समयमा पटक–पटकका चुनावी नारा बनेको सालझण्डी–ढोरपाटन सडकको विवाद सुल्भ्mयाउन नसक्दा सडक अलपत्र बनेको हो ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विगत १२ वर्षदेखि सडकको ट्रयाक खुल्न सकेको छैन ।

सन्धिखर्कको चुत्राबेसीबजार हुँदै जाने सडकले केही घर फालेर सडक लैजानु पर्ने भएपछि स्थानीय बासीन्दा र सडक योजना कार्यालयबीच पटकपटक विवाद भइरहेको छ । विवाद वर्षौंदेखि जहाँको तहीं छ, समस्याको समाधान भएको छैन । सन्धिखर्कमा मात्र होइन साँघुरो सडक चौडा गर्ने विषयमा रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डी बजारमा पनि विवाद कायमै छ ।

उक्त ठाउँमा पनि सडक चौडा हुन सकेको छैन । पाणिनी गाउँपालिकाकोे मैदान र पटौटीका विभिन्न ठाउँमा सडक चौडा गर्ने विषयमा स्थानीय बीच रहेको विवाद आठ वर्षदेखि कायमै छ ।

लामो समयसम्म विवाद कायम रहँदा सडकको ट्रयाक खोल्ने विषयमा अन्योलता छाए पनि विवाद सुल्झनेमा सालझण्डी ढोररपाटन सडकको दाबी छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले वर्षौंदेखि विरोध जनाउँदै आएका छन् ।

सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन नसकेको हो । कञ्चन खोलादेखि सालझण्डी बजारसम्म आउने बाटो साँघुरो भएका कारण आवतजावतमा समस्या परेको छ ।

२०६५ सालमा निर्माणकार्य सुरु भएको सडकको ट्रयाक खोल्ने कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहे पनि विवाद सुल्झिने क्रममा छ । “छिटो सहमति गरी ट्रयाक खोल्ने कामलाई पूर्णता दिने गरी अगाडि बढेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकका योजना प्रमुख वीरेन्द्रप्रसाद गौतमले बताउनु भयो ।

यो सडकले धेरै सम्भावना बोकेकाले यसको महत्व बढी छ । सन्धिखर्क यो सडकको लम्बाइ एक सय ८५ किलो मिटर छ भने रुपन्देहीमा ५, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाका लेखाअधिकृत झवीन्द्र खनालले बताउनु भयो । बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पुर्याइएको यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।

आगामी आर्थिक वर्षमा फुदवाङदेखि बलेबाङसम्म १० किलोमिटर बाटो पिच हुने गरी काम अगाडि बढेको छ । लुम्बिनी ढोरपाटन सडकको ट्रयाक खुलेसँगै अर्घाखाँची, पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ अवलोकन गराउन सके यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्नेछ । कारोवार दैनिक

प्रतिक्रिया दिनुहोस्