एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो



काठमाडौं,वैशाख २९ । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू. १० अर्बले बढी कुल रू. ३९ खर्ब ३३ करोड पुगेको छ ।

यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो ।

वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो ।

वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू. १५ अर्बले वृद्धि भई कुल कर्जा रू. ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जा वृद्धि भएको हो ।

पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो ।

गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू. २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल  ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो ।

यसअघिका साता अर्थात् फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर अर्थात् २६ अर्बले बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्ब भएको थियो । त्यस अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो ।

यतिबेला बैंकको कर्जा प्रवाह सकारात्मक देखिएकाले समग्रमा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव १३ प्रतिशत रहेको बैंकर्स संघले बताएको छ ।

कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारी निर्धारण गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्