लुम्बिनीमा जसपाका चार जना सांसदले पनि मतदान गर्न पाउने



काठमाडाैं,जेठ १६ । लुम्बिनी प्रदेशमा सोमबार हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका चार जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । आइतबार निर्वाचन आयोगले उक्त निर्णय गरेसँगै चारै जना सांसदले लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनका लागि मतदान गर्न पाउने भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका मन्त्री समेत रहेका जसपाका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पुनः मतदाता नामावलीमा समावेश गरिएको जनाएको छ । योसँगै उनीहरुले पनि मतदान गर्न पाउने भएका हुन्।

यसअघि निर्वाचन आयोगले चारै जनाको नाम समावेश गरेको थिएन । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि सोमबार उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट विजयी भएका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेसँगै लुम्बिनी प्रदेशमा एक राष्ट्रिय सभा पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्