बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटिएकोमा किसानको गुनासो



काठमाडौं,जेठ १७ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटेको भन्दै किसानले गुनासो गरेका छन् । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारका तर्फबाट यी दुवै क्षेत्रका लागि कुनै पनि सम्बोधन नहुँदा उनीहरूले गुनासो गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

करीब ६५ प्रतिशतभन्दा बढी किसान भएको कृषि प्रधान देशमा कुल बजेटको जम्मा २ दशमलव ७८ प्रतिशत अंश कृषि तथा पशुपन्छी क्षेत्रलाई छुट्ट्याएर कृषिक्षेत्र आत्मनिर्भर हुन नसक्ने धारणा किसानहरूको छ । यससँगै लाखौं मानिसलाई देशमै रोजगारी दिन सफल भएको पोल्ट्री र पुष्प व्यवसायलाई सरकारले बजेटमा अटाउन नसकेकोमा किसानहरू निराश बनेका छन् ।

नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले निजीक्षेत्रको एकमात्र आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रको नामसमेत बजेटमा उच्चारण नगरिएकोमा दुःख व्यक्त गरे । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पोल्ट्री क्षेत्रको योगदान १ सय ८० अर्बको रहेको छ । मुलुकको समग्र अर्थतन्त्रमा ठूलो योगदान रहेको पोल्ट्री उद्योगलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेको उनले बताए ।

त्यसैगरी बजेटमा पुष्प व्यवसाय नसमेटिएको भन्दै पुष्प व्यवसायीहरूले पनि चिन्ता व्यक्त गरेका छन् । फ्लोरी कल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले देशैभर साढे ६ अर्बको लगानी रहेको पुष्प व्यवसायलाई सरकारले बजेटमा बेवास्ता गरेको बताए । निषेधाज्ञाका कारण व्यवसाय नै संकटको स्थितिमा रहेका बेला सरकारले यस क्षेत्रलाई पनि बजेटमार्फत सम्बोधन गर्ने आशा थियो तर बजेटमा कृषिका सबै क्षेत्र समेटिन नसकेकोमा दुःख लागेको उनले बताए ।

यसले पूल किसान तथा व्यवसायीहरूलाई निराश बनाएको उनी बताउँछन् । जारी निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसायले दैनिक १ करोड रुपैयाँको क्षति बेहोरी रहेको छ । करीब ४३ जिल्लामा फैलिएको यस व्यवसायमार्फत ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् । विभिन्न सभासमारोह, विवाह, व्रतबन्ध र भोजलगायत कार्यक्रम तथा पर्यटन क्षेत्रसँग यस व्यवसायको ठूलो अंश जोडिएको हुन्छ अहिले कोरोना महामारीका कारण यी सम्पूर्ण क्षेत्र ठप्प हुँदा व्यवसाय संकटमा रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्