निषेधाज्ञामा बैंकको कारोबार



काठमाडौं,जेठ १९ । मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि वाणिज्य बैंकहरूले जसोतसो कर्जा प्रवाहमा थप वृद्धि गरिरहेका छन् तर निक्षेप संकलन भने बढाउन सकेका छैनन् ।

जेठको दोस्रो साता २७ ओटा वाणिज्य बैंकले करीब १० अर्ब रुपैयाँले कर्जा वृद्धि गर्दा कुल कर्जा प्रवाह रू. ३६ खर्ब २६ अर्ब पुगेको छ । तर यस अवधिमा निक्षेप संकलन भने ५ अर्ब रुपैयाँले घटेर कुल निक्षेप रू. ३९ खर्ब ५६ अर्बमा सीमित हुन पुगेको छ । यसअघि अर्थात जेठ पहिलो साता कुल निक्षेप ३९ खर्ब ६१ अर्ब रुपैयाँ संकलन गरेको थियो ।

निक्षेप संकलन घट्नु र कर्जा बढ्नु उपयुक्त नहुने बैंक विज्ञहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बैंकहरूसँग निक्षेप घटेको बताउँछन् । ‘अहिले राज्यसँग झन्डै ३ खर्ब रुपैयाँ छ । त्यो हामीसँग आउने निक्षेप हो । राज्यले राम्रो राजस्व उठाएकाले राज्यको ढुकुटीमा गयो । यसकारण निक्षेपमा कमी देखिएको हो,’ उनले भने ।

चालू आर्थिक वर्षमा निक्षेपभन्दा कर्जाको विस्तार बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । नेपाल बैंकर्स संघको सार्वजनिक गरेको जेठ १४ गतेसम्मको तथ्यांकले पनि कर्जाको विस्तार बढी नै भएको देखाएको छ । यसो हुँदा बजारमा कर्जा प्रवाहमा असहज भने छैन ।

नेपाल राष्ट्र बैंकले चालू आवमा सीसीडी ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशतसम्म पुर्‍याएकाले अधिकांशको कर्जा प्रवाह गर्ने क्षमता अझै करीब ६ प्रतिशतको हाराहारीमा रहेका नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार जेठ दोस्रो सातासम्म बैंकहरूको सीसीडी औसत ७८ दशमलव ८६ प्रतिशत रहेको छ । ‘कर्जा प्रवाहको मापन सीसीडी रेसियो (कर्जा पूँजी निक्षेप अनुपात) अनुसार हुन्छ । यसर्थ सीसीडी रेसियोले तरलता अनुपातको मापन गर्दैन । हाम्रो तरलता निक्षेप अनुपात न्यूनतम २० प्रतिशत हुनुपर्ने भन्ने छ । त्यसैले यसमा आत्तिनुपर्ने अवस्था छैन,’ अध्यक्ष दाहालले भने ।

यसबीच निक्षेप सृजना गर्ने विप्रेषण बढेकै भए पनि आयात पनि बढेको छ । यसकारण पनि कर्जा विस्तार भइरहेको बैंकरहरू बताउँछन् ।

वैशाखको अन्तिम साता २७ वाणिज्य बैंकहरूको निक्षेप संकलन थप रू. २२ अर्बले बढ्दा कुल रू. ३९ खर्ब ५५ करोड हुन पुगेको थियो । यसपछिको साता अर्थात् जेठको पहिलो साता ६ अर्बले मात्र निक्षेप वृद्धि भई कुल निक्षेप रू. ३९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको थियो । तर, यस्तो वृद्धि जेठ दोस्रो साता भने घट्न गयो ।

गत वैशाखको चौथो साताबाट लगातार थप कर्जा विस्तार बढिरहेको छ । गत वैशाखको चौथो साता थप १५ अर्बले कर्जा विस्तार भएको थियो भने अन्तिम साता रू. २ अर्बले वृद्धि भएको थियो ।

जेठ पहिलो साता रू. ५ अर्बले थप कर्जा प्रवाह बढ्दा कुल कर्जा प्रवाह ३६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लो समय नयाँ कर्जाभन्दा पनि पुरानै प्रक्रियामा रहेको कर्जाहरू र आयातका लागि प्रतीतपत्र (एलसी) भुक्तानीका कारण कर्जा वृद्धि भएको बैंकरहरूको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्