जोर्डनसँग नेपाल ३-० गोल अन्तरले पराजीत



काठमाडौं,जेठ २५ । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। सोमबार राती कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाललाई जोर्डनले ३-० गोल अन्तरले हराएको हो। जोर्डनको जितमा बाहा फाइजल सिफले दुई गोल गरे।

खेलको २४ औं मिनेटमा सिफले पेनाल्टीमा पहिलो गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । नेपालका खेलाडि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो। खेलको ४९ औं मिनेटमा बाहा फाइजल सिफले फ्रिकिकमा दोश्रो गोल गरे खेलको ६७ औं मिनेटमा डिफेन्डर याजन अल अरबले हेडरबाट जोडर्नलाई तेस्रो गोल थपे।

खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। समूह ‘बी’ ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ। नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्