कम्पनीहरू संस्थागत बीमा अभिकर्ता हुन पाउने



काठमाडौं,जेठ २७ । नेपालमा सञ्चालित कुनै पनि कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बीमा समितिले बुधवार संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्ता कम्पनीहरूले आप्नो विधान, प्रबन्धपत्र तथा नियमावली संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गरेको हुनुपर्ने बताइएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउनेगरी निर्देशिका जारी गरेको बताए ।

‘कम्पनीहरूले विधान, प्रबन्धपत्र तथा नियमावलीमा संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि समितिबाट इजाजतपत्र लिएर संस्थागत अभिकर्ताको काम गर्नु सक्नेछन्,’ उनले भने, ‘कम्पनीको सञ्चालक वा व्यवस्थापक मध्येबाट कुनै एक जनाले बीमा समिति वा सम्बन्धी बीमा कम्पनीबाट अभिकर्ताको तालीम पनि लिनुपर्ने छ ।’ तालीम लिने व्यक्ति भने कम्तीमा एसईई तह उत्तीर्ण गरेको हुनुपर्ने उनले बताए ।

समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजतपत्र दिन यस्तो व्यवस्था गरेको बुझिएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले मात्र संस्थागत बीमा अभिकर्ताको काम गर्दै आएका छन् । अब अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई पनि संस्थागत बीमा अभिकर्ता बनाउन नयाँ निर्देशिका ल्याइएको बताइएको छ । तर, त्यस्ता संस्थाहरूलाई उनीहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकबाट पनि आवश्यक स्वीकृति लिनुपर्ने हुन सक्ने जानकारहरू बताउँछन् ।

संस्थागत बीमा अभिकर्ताहरूले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । बीमितबाट बीमाशुल्क संकलन गरेर बीमा कम्पनीलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फारम भर्नेलगायत सम्पूर्ण काम विद्युतीय माध्यमबाट गर्न सक्ने निर्देशिकामा उल्लेख छ । तर, विद्युतीय कारोबार गर्न संस्थागत अभिकर्ताले सम्बद्ध निकायबाट अनुमति लिनुपर्ने छ । उनीहरूले ग्राहकलाई विद्युतीय माध्यमबाट नै सेवा लिन बाध्य पार्न पनि नपाउने निर्देशिकामा उल्लेख छ ।

विद्युतीय कारोबार गर्दा बीमितले अभिकर्तालाई बुझाएको समयदेखि नै बीमा अवधि शुरू हुने बताइएको छ । अभिकर्ताले कम्पनीलाई उक्त रकम भुक्तानी नगरे पनि बीमा अवधि शुरू हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्