उपत्यकामा २ महीना मेलम्चीको पानी नआउने



नदीकिनारमा नजान सूचना

काठमाडौं,जेठ २८ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महीनाका लागि मेलम्चीको खानेपानी नआउने भएको छ । आउँदो असार १ गतेदेखि सुरुङको पानी खाली गरी निरीक्षण गर्ने र पुनः पानी भर्न २ महीना लाग्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले २ महीनासम्म पानी नआउने जानकारी दिएको हो ।

असार १ गतेदेखि ६० दिनसम्म काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुनेछैन । समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुरुङ खाली गर्न १६ दिन लाग्ने र बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न समय लाग्ने भन्दै समितिले ६० दिनसम्म पानी नआउने जानकारी दिएको हो ।

असारदेखि अन्तिम परीक्षण हुने भएकाले मेलम्चीको पानी पथान्तरणलाई जतिसक्दो छिटो गर्नेगरी काम अघि बढाएको समितिका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए । उनले सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम, वाग्मती नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै असार १ गतेदेखि नै नदीकिनारामा नजान र काम विशेषले जाँदा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध नहुने भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड र सम्बद्ध शाखाहरूले पानी वितरणको तालिका नै परिवर्तन गर्न थालेका छन् । महाँकाल शाखाका एक अधिकारीले मेलम्चीको पानी आउनुअघिको तालिकाअनुसार पानीको तालिका बनाउन थालेको बताए ।

मेलम्चीको पानी आएपछि उपत्यकावासीले पानीको समस्या खासै भोग्नु परेको छैन । तर, अब केही महीना पहिलाकै जस्तै अर्थात् दैनिक ८ करोड लिटर पानी वितरण हुने देखिएको छ, । वर्षा शुरू भएकाले थप ४ करोड लिटर पानी थपिने हुँदा त्यति समस्या नहुने उल्लेख गरिएको छ ।

अहिले मेलम्ची र पुराना स्रोतबाट गरी दैनिक २५ करोड लिटर पानी वितरण हुँदै आएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउँदा केयूकेएलले सुन्दरीजल, डीप ट्युबवेल, विष्णुमती, शिवपुरीजस्ता स्रोतबाट उपत्यकामा पानी आपूर्ति गर्दै आएको थियो । अब यी स्रोतबाटै पानी वितरण हुनेछ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी औपचारिक रूपमा चैत २१ गतेदेखि वितरण गर्न शुरू गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार नै खानेपानी मन्त्रालय, समितिलगायत निकायका अधिकारीहरूसँग छलफल गर्दै सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउने कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । दुवै खोलाबाट पानी ल्याउन आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै शुरू गर्न उहाँले निर्देशन दिनुभयो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्