तीन वर्षभित्र आठ सहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने
काठमाडौँ,कात्तिक ९ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।
मन्त्री लम्सालका अनुसार कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित रंगशालामा ‘होम एन्ड अवे’ प्रणालीअनुसार क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने व्यवस्था गरिनेछ।
नेपाली क्रिकेटको पर्वका रूपमा लिइने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुन लागेका बेला मन्त्री लम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन्।
आठ सहरमा आधुनिक रंगशाला निर्माण भए नेपाल प्रिमियर लिगलगायत राष्ट्रिय तथा अन्य क्रिकेट प्रतियोगिता देशका विभिन्न सहरमा आयोजना गर्न सहज हुने र स्थानीय खेलाडीले समेत अवसर पाउने अपेक्षा गरिएको छ।
मन्त्री लम्सालले योजनाले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान) लाई आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्। उनले एनपीएलको सफल आयोजनाका लागि शुभकामनासमेत दिएका छन्।

