एमाले विवादः मिलनबिन्दु खोजी तीव्र



काठमाडौं, जेठ २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आआफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैं प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्षनेताले नै भोग्नुपरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एक्ताका लागि अन्तिमसम्म प्रयास जारी नै रहेको बताए । पार्टी नेता, कार्यक्र्ता अहिले पनि एक्ताको पक्षमा रहेकाले विभाजनमा गर्न खोज्नेलाई कसैले साथ नदिने उनले उल्लेख गरे ।

‘पार्टी विभाजन गर्ने सबै गतिविधि सम्पूर्ण रूपमा असफल बनाउँछौं, नेताकार्यक्र्ता कोही पनि विभाजन पक्षमा रहेको देखिँदैन,’ पौडेलले भने, ‘पार्टी एक्ताका लागि हामी अन्तिमसम्मको प्रयास जारी नै राख्छौं । विभाजन गर्ने काम कोही कसैका लागि राम्रो हुन सक्दैन ।’

नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको पनि पौडेलले बताए । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारसाथ एक्ताका लागि गरेको आह्वान अस्वीकार गर्नुले नेपाल समूह एक्ता पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उनले औंल्याए ।

आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल कुनै पनि हालतमा सफल हुन नसक्ने उनको दाबी छ । आमकार्यक्र्ता एक्ता पक्षमा रहेको अवस्थामा नेपाल समूह कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एक्ताका लागि घातक भएको पौडेलको टिप्पणी छ ।

एमाले नेता गोकर्ण विष्ट एक्ताका लागि विभिन्न प्रस्तावमाथि छलफल भइरहेको बताउँछन् । एक्ताका लागि अनौपचारिक रूपमा भइरहेको नेताबीचको छलफलमा सहभागी विष्टले एक्ता जोगाउने विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्