लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



बुटवल,जेठ २८ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।मुख्यमन्त्री शंकर पोखरेलले नीति तथा कार्यक्रम माथिको छलफलमा उठेको विषयवस्तुको जवाफ दिएका थिए ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ती प्रकृया अबैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गर्दै आएका थिए । विरोध स्वरुप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन विपक्षी गठबन्धनबाट प्रमुख सचेतकहरु मात्र प्रदेश सभा बैठकमा उपस्थित थिए । मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा आफूले संसद् भित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाएका छन् । उनले जनता समाजवादीका ४ प्रदेश सभा सदस्यको स्टे अर्डर मार्फत पुर्नबहाली भएको र विचाराधीन अवस्थामा रहेकाले त्यसको टुंगो लागेपछि मात्र सरकार अल्पमत कि बहुमतको अवस्थामा जाने बताए ।

सरकारको नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सत्ता पक्षकाले हुन्छ भन्ने ध्वनी मत दिएका थिए । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले हुन्न भनेका थिए । तर, हुन्न भन्ने ध्वनी मत कम भएकाले सभामुख पूर्णबहादुर घर्तीले बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्