चीनमा कोभिडविरोधी खोपको एक अर्ब मात्रा लगाइयो



एजेन्सी,असार ७ । चीनमा कोभिड–१९ विरोधी खोपको एक अर्बभन्दा बढी मात्रा लगाएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आइतवार बताएको छ । 

यो विश्वभर लगाइएको खोपको एक तिहाईभन्दा धेरै हो । शुक्रवारसम्ममा विश्वभर २ अर्ब ५० करोड मात्रा खोप लगाइएको आधिकारिक स्रोतहरुबाट समाचार एजेन्सी एएफपीले गरेको गणनाले देखाएको छ । 

अहिलेसम्म चीनको जनसंख्याको कति प्रतिशतले खोप लगाइसके भन्ने अस्पष्ट छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सफलता पछि खोप लगाउन ढिलै शुरु गरिएको थियो ।

पारदर्शिताको अभाव र अघिल्लो खोप घोटालाका कारण बासिन्दाहरु माझ खोप लगाउन अनिच्छा पनि देखिएको छ । अधिकारीहरुले यस महीनाको अन्त्यसम्ममा कुल जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउने महत्वाकांक्षा तय गरेका छन् । 

आयोगका अनुसार पछिल्लो पाँच दिनमा १० करोड मात्राभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो । पहिलो चरणमा २५ दिनको अवधिमा १० करोडबाट २० करोड मात्रा खोप लगाइयो । 

पछिल्ला १६ दिनमा ३० करोड मात्रा खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।  

चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । 

चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्