महाअष्टमीमा मधेसका शक्तिपीठमा भक्तजनको घुइँचो
जनकपुरधाम,कात्तिक १ । मधेस प्रदेशका प्रमुख शक्तिपीठहरूमा महाअष्टमीका अवसरमा बिहानैदेखि माता भगवतीको पूजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।
जनकपुरधामको राजदेवी मन्दिर, रौतहटको मत्सरीस्थित दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता तथा सखडा भगवती मन्दिर र बाराको गढीमाई मन्दिरमा भक्तजनको चहलपहल बढेको छ।
रौतहटको मत्सरीस्थित दुर्गा मन्दिरमा वैदिक विधिअनुसार दुर्गा सप्तशती र चण्डीपाठलगायत धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्। दुर्गा पूजा समितिका अध्यक्ष अभिशेक झाका अनुसार महाअष्टमीको मध्यरातमा विशेष निशा पूजा गर्ने तयारी गरिएको छ।
दसैँका अवसरमा शक्तिपीठहरूमा हुने विशेष पूजाआजा र धार्मिक अनुष्ठानले मधेस प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त बनाएको छ।

