वैकल्पिक मार्गबाट बेनी–दरबाङ सडक सञ्चालन
म्याग्दी,कात्तिक १ । सुक्खा पहिरोका कारण अवरुद्ध बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ।
फापरखेतमा शनिबारदेखि पहिरो खस्न नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर सडक मर्मत गरी आइतबार दिउँसोदेखि यातायात सञ्चालनमा ल्याएको हो। उक्त मार्गमा मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्न थालेका छन्।
पहिरो निरन्तर खसिरहेकाले फापरखेत खण्डको अवरोध हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो। बेनी–दरबाङ सडक म्याग्दीका मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो।

